
सरकार गतिशील हुन पार्टी चलायमान हुनुपर्छ । पार्टी चलायमान हुन नियमित बैठक, छलफल हुनुपर्छ । तर, नेकपा बैठकबाट पन्छिरहेको, नेतृत्वको बैठकप्रति रुचि नै नदेखिएको जस्तो लाग्दैन ?
यसमा मेरो प्रस्ट कुरा छ, दुवैजना अध्यक्षमाथि, यो दुई अढाइवर्षमा उहाँहरूले आफूलाई सफल अध्यक्ष हो भन्ने कुरा देखाउन सक्नुभएन । केपी शर्मा ओलीले आफूलाई एक नम्बर अध्यक्ष भन्नुहुन्छ । प्रधानमन्त्री पनि भएको र एक नम्बर अध्यक्ष पनि भएको हिसाबले यसको मुख्य जिम्मेवारी उहाँले नै लिनुपर्छ । थोरै जिम्मेवारी कमरेड पुष्पकमल दाहाल प्रचण्डले पनि लिनुपर्ला ।
स्थायी कमिटीको बैठकमात्र होइन । उहाँहरूले केन्द्रीय कमिटी बैठक सामु प्रतिबद्धता व्यक्त गर्नुभएको थियो– यो काम १५ दिनभित्र पूरा गर्छौं । यो काम एकमहिनाभित्र पूरा गरिसक्छौं । खै त्यो काम पूरा भएको ?
पार्टी एकता भएको २५ महिना भयो, खै एकीकरणको काम सकिएको ? देशमा यत्रो कोरोना सङ्कट छ, नेकपाका नेता–कार्यकर्ताहरू निर्देशन नपाएर निस्क्रिय बसेका छन् । केन्द्रीय सदस्यहरू ‘कुहिराको काग’ बनेका छन् । हामी स्थायी कमिटी सदस्यहरू कामविहीन भएर बसेका छौं । यत्रो पार्टी पंक्तिलाई देश विकासको काममा, राजनीतिक अभियानमा सञ्चालन गर्नुपर्ने अवस्थामा पार्टी आफैं निस्क्रिय छ ।
यसको जिम्मेवारी त लिनुपर्यो नि । यसकारण म स्पस्ट शब्दमा भन्छु, केपी ओली र प्रचण्ड पार्टीलाई नेतृत्व गर्न असफल हुनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा पनि ‘पर्फमेन्स’ देखिएन । पार्टी अध्यक्षको रूपमा पनि ‘पर्फमेन्स’ देखिएन । यो हाम्रो लागि दुर्भाग्यको क्षण हो ।
यसको निकास के हो ?
यसको निकास स्थायी कमिटीको बैठक तत्काल राख्नुपर्यो । त्यहाँ छलफल गर्नुपर्यो । छलफलले निकास दिन्छ ।
बैठक राख्नचाहिँ किन विलम्ब भइरहेको छ त ?
हामीले अहिले कोरोनाकै कारण संयम धारण गरेका हौं । फेरि नक्सा प्रकरणसँगै सिमानाको समस्या पनि आयो । संविधान संशोधन विधेयक पारित गर्नुपर्ने थियो । अब नयाँ नक्सालाई संविधानमै अंकित गरिसकिएको छ । त्यसैले अब बैठक टार्ने कुनै ठाउँ छैन । तत्काल स्थायी कमिटी बैठक बोलाएर त्यहाँ छलफल गरिनुपर्छ । बैठकले जे निष्कर्ष निकाल्छ, त्यसलाई सबैले मानेर जानुपर्छ ।
सत्ताधारी नेकपा नेता रघुजी पन्तसँग बाह्रखरी अनलाइनले गरेको कुराकानीको सानो अंश ।







