हेटौँडा उपमहानगरपालिकाको वडा नंबर ३ मा एउटा यस्तो सडकको निर्माण भएको छ, जहाँ यतिबेला सबैको ध्यान खिचीएको छ । विकासको नाममा भएको यस्तो खालको सडक निर्माणले अपरिपक्कताको उदाहरण पेस गरेको छ ।
बसामाडीको लेबट क्षेत्रबाट जमुचौतारा जाने सडक स्ल्याब भैसक्दा समेत स्थानीय खुसी भएनन् । कारण बन्यो सडकको बिचमा रहेको बिजुलीको पोल, ४ मिटर चौँढाइको सडकको विचमा विजुलीको पोल रहेको छ । सडक ढलान भैसकेको र अबको केहि समयभित्र सञ्चालनमा आउने सडकको बिचमै पोल हुँदा त्यहाबाट चारपांग्रे सबारी त के मोटरसाईकललाई समेत समस्या पर्ने देखिन्छ ।
उक्त सडक निर्माण समितीका सचिव चण्डीका न्यौपानेका अनुसार यस विषयमा पटकपटक विद्युत प्राधिकरण तथा हेटौँडा उपमहानगरपालिकालाई जानकारी दिदा पनि बेवास्ता गरेको बताएका छन् । विद्युत प्राधिकरणलाई समस्याबारे पटकपटक अबगत गराउँदा समेत अहिले काम गर्दै गर्नुस, ११ हजार भोल्डको तार भएको पोल भएको कारण अहिले तत्कालै सार्न नसकिने जवाफ दिएको न्यौपानेको भनाई रहेको छ । समितिले यसबारे हेटौँडा उपमहानगरपालिकाको इन्जिनियरसँग समेत छलफल गर्दा इन्जिनियरले पछि पोल निकाल्ने ठाउँ राखेर काम गर्न सुझाव दिएको समेत उनले बताए ।
४ सय ५० मिटर लामो सडकको लागि बागमती प्रदेश सरकारले ३० लाख रुपैँया बजेट विनियोजन गरेको भन्दै उनले यहि एउटा पोलको कारण बजेटनै फिर्ता जाने भएपछि आफुहरुले उक्त सडक निर्माण गर्नुपरेको बताएका छन् । सडक सञ्चालन हुनु पहिलेनै प्राधिकरणले पोल सार्नेमा आफुहरु विश्वस्त रहेको समेत उनको भनाई रहेको छ ।
प्राधिकरण भने अनुसारको सिफारिस सहितको पत्र पेश गर्दा समेत ढिला हुने देखिएपछि समितिको छलफलमा गाउँमा आएको विकास बजेटलाई फिर्ता गर्न नहुने सहमति पछि सडक निर्माण गरिएको उनको भनाई रहेको छ ।
यस विषयलाई लिएर स्थानीय युवाहरुले विरोध जनाउदै महानगरपालीका र विद्युत प्रावीधीकरणलाई समाधानको बाटो खोज्न आग्रह गरेका छन् ।







