
भारतको एक संगठनले नेपाली झण्डा जलाएकोमा भारतस्थित प्रवासी नेपाली जनसमाजले घोर भत्र्सना र विरोध गर्दै त्यस्ता अराजक संगठनलाई कार्वाही गर्नु पर्ने बताएको छ ।
प्रवासी नेपाली जनसमाज, भारतका अध्यक्ष आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गर्दै भारतमा नेपालको झन्डा जलाउने जातीय राजनीतिक सङ्गठन अल इन्डिया मजलिस–इ–इत्तेहादुल मुस्लिमिन प्रतापगढ जिल्लाको अध्यक्ष इसरार अहमद र उक्त सङ्गठनमा आबद्ध व्यक्तिहरूलाई सख्त कारबाही गर्न माग गरेका छन् ।
नेपालको संसद्ले भारतले मिचेका भूमि समेटेर नयाँ नक्सा पारित गरेको सन्दर्भ उठाउँदै थापाले नयाँ नक्सा पास गर्ने कार्यले मात्र नेपाली भूमि फिर्ता नहुने र त्यसका लागि यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गर्न पनि नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।
दुई देशको सम्वन्धलाई धमल्याउने त्यस्ता अराजक संगठनलाई भारत सरकारले कार्वाही नगरे आफ्नो संगठनले कार्वाही गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
अध्यक्ष थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतले विगत ५८ वर्षदेखि नेपाली भूमि कालापानी, लिम्पियाधुरादेखि लिपुलेकसम्मको सबै नेपाली भूभागलाई आफ्नो कब्जामा राख्दै आएको थियो भने नोभेम्बर २०१९ मा आफ्नो देशको नयाँ नक्सामा गाभेर प्रकाशन गर्यो र त्यसलाई निरन्तरता दिँदै ८ मई २०२० का दिन नेपाली भूभाग गुञ्जी र लिपुलेक हुँदै धार्चुला–तिब्बतको मानसरोवर जोड्ने सडकको भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको थियो । त्यसका विरुद्ध नेपाल र संसारभरका नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, सञ्चार मिडिया र क्रान्तिकारी शक्तिहरूको निरन्तर सङ्घर्ष र जनदबाबका कारण केपी वली सरकार ३१ जेठ २०७७ मा प्रतिनिधिसभा र ४ असार २०७७ मा राष्ट्रिय सभाबाट उक्त भूभाग समेटिएको नयाँ नक्सा संसदबाट पास गर्न बाध्य भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संसदकाे यो निर्णय सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताका हितमा भएकाले प्रवासी नेपाली जनसमाज भारत यो निर्णयको स्वागत गर्दछ । साथै नयाँ नक्सा पास गर्ने कार्यले मात्र नेपाली भूमि फिर्ता हुँदैन । त्यसका लागि यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
विज्ञप्तिको पूर्णपाठ….








