
केपी शर्मा ओली नेतृत्वको सरकारका कारण आम नागरिक आजित हुँदासम्म पनि प्रतिपक्षी नेपाली कांग्रेसले नागरिकका पक्षमा केही आवाज उठाउन सकिरहेको छैन ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीमा सरकारले प्रभावकारी व्यवस्थापन गर्न र नागरिकलाई राज्य भएको अनुभूति गराउन नसक्दा उठान गर्ने महत्वपूर्ण विषय हुँदापनि कांग्रेसले सदन र सडकमा जोडदार रुपमा आवाज बुलन्द पार्न सकेको छैन ।
सांसदमा प्रधानमन्त्री ओलीले आफ्ना सांसदलाई हप्काउँदासम्म पनि कांग्रेस नेतृत्व चुपचाप बसिरहन्छ । सभापति शेरबहादुर देउवा ओलीले जति नै नराम्रो काम गरेपनि कानमा तेल हालेर निदाए झै गरी बसिरहेका छन् ।
प्रधानमन्त्री ओलीले संसदमा तथ्य र प्रमाणबिना जे पायो त्यही बोल्दा पनि कांग्रेसले त्यसको प्रतिकार गरेको छैन । प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले जे पायो त्यही बोल्ने कि प्रमाणका आधारमा बोल्नुपर्छ भनेर आवाज उठाउन पथ्यो र नमानेमा संसदमा प्रधानमन्त्रीको सम्बोधन नै बहिस्कार गर्ने संस्थागत निर्णय गर्न सक्थ्यो ।
तर, त्यो गर्न आवश्यक देउवाले ठानेनन् । ४ पटकसम्म मुलुकको प्रधानमन्त्री भइसकेका संसदीय दलका नेता देउवा निदाइरहेका छन् । यसले देउवा र कांग्रेस नेताहरुको प्रधानमन्त्री ओलीसँग केही साठगाठ त होइन भन्ने प्रश्न आम नागरिकले मात्र होइन कांग्रेसका अन्य नेता वा कार्यकर्ताले पनि गर्न थालिसकेका छन् ।
कांग्रेसले ओलीले गरेका ललिता निवासको जग्गा प्रकरण, ७० करोडको अडियो काण्ड, वाइडबडी, न्यारोबडी अरिद प्रकरण, यती प्रकरणलगायतका अनियमितताका काण्डमा संसद र सडकमा जोडदार रुपमा आवाज उठाउन सकेको छैन ।
यस्ता विषय कहिल्यै कांग्रेस बैठकका विषयबस्तु र एजेण्डा बन्दैनन् । ओलीले पार्टी उपसभापति, संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई ललिता निवास प्रकरणमा राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाउँदा पनि कांग्रेस बोल्न सकेको छैन ।
तत्कालिन समाजवादी पार्टी फुटाएर आफ्नो स्वार्थ सिद्ध गर्न प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका दुई सांसद र पूर्वप्रहरी महानिरीक्षकलाई समाजवादीका सांसद जनकपुरबाट अपहरण गरेर काठमाडौं ल्याउन निर्देशन दिएका थिए ।
उनीहरुले त्यो अनुरुपको काम पनि गरे । आफुहरुले सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको स्वीकार्ने सत्तारुढ दल नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललाई कारबाही गर्न पनि कांग्रेसले सडक र सदनमा जोडदार माग गर्न सकेन ।
ओलीले उनीहरुलाई कारबाही नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । त्यो विषय पनि कांग्रेसले उठाएको छैन् ।







