कार्यकर्ताको महत्ववारे १९३५ मा स्टालिन भन्नुहुन्छ, ‘विश्वमा विद्यमान पुँजीमध्ये सबभन्दा मुल्यवान र सबभन्दा निर्णायक जनता हुन्, कार्यकर्ता हुन् । कुन कुरो बुझ्नुपर्छ भने हाम्रो वर्तमान परिस्थिति अन्तर्गत कार्यकर्ताले सारा कुराको निर्णय गर्दछन् ।’

त्यस्तै १९३८ मा माओत्सेतुङ्ले पार्टीको छैठौ केन्द्रिय समितिको छैठौ बिस्तारित बैठकमा प्रस्तुत आफ्नो प्रतिवेदनमा भन्नुभयो, ‘राजनैतिक कार्यदिशा निर्धारित भयपछि कार्यकर्ताहरु निर्णायक तत्व हुन्छन् कार्यकर्ता पार्टीका सम्पती हुन् । कार्यकर्ता नै नभएको संगठन मान्छेबिनाको घर जस्तो हुन्छ । कार्यकर्ता बिनाको नेतृत्व सेनाबिनाको सेनापति जस्तो हुन्छ । प्रयाप्त कार्यकर्ता बिनाको पार्टीबाट क्रान्ति असम्भव हुन्छ । त्यसकारण बढी भन्दा बढी कार्यकर्ता उत्पादन गर्नु क्रान्तिकारी संगठनको एउटा महत्वपूर्ण काम हो ।’

कार्यकर्ता मात्र उत्पादन गर्नु ठुलो कुरा होईन, क्रान्तिकारी कार्यकर्ता उत्पादन गर्नु ठुलो कुरा हो । क्रान्तिकारी कार्यकर्ता उत्पादनको निम्ति कार्यकर्ता छनौटको मापदण्ड क्रान्तिकारी प्रकारको हुनुपर्दछ । विशेषत सर्वहारावर्गको लक्ष र पार्टीप्रति निष्ठा,जनतासंगको मैत्रीपूर्ण सम्बन्ध, निर्णय गर्न सक्ने र आफ्नो जिम्मेवारी वहन गर्न सक्ने क्षमता र अनुशासनको पालना नै कार्यकर्ता छनौटका क्रान्तिकारी मापदण्ड हुन् ।

कार्यकर्ताको छनौटवारे स्टालिन भन्नुहुन्छ, ‘सर्वप्रथम राजनैतिक कसी अनुसार अर्थात तिनीहरु राजनैतिक विश्वासका योग्य छन कि छैनन् भन्ने आधारमा र दोस्रो कुरा व्यवहारिक कसी अनुसार अर्थात ठोस कामका लागि तिनीहरु सुहाउदा छन् कि छैनन् भन्ने आधारमा कार्यकर्ताको छनौट गरिनु पर्दछ ।’ कार्यकर्ता राजनैतिक रुपमा सचेत र ईमान्दार हुनुपर्दछ । क्रान्तिकारीको जिबन सधै हत्केलामा हुन्छ भन्ने मान्यतालाई क्रान्तिकारी पार्टीको कार्यकर्ताले कहिल्यै बिर्सनु हुदैन । क्रान्तिकारीको जीवनमा जेल, नेल, यातना र मृत्यु सामान्य कुरा हुन् । क्रान्तिका विविध चरण र आरोह अवरोहमा क्रान्तिकारी आन्दोलनलाई तुहाउने षड्यन्त्र अन्तर्गत क्रान्तिकारी कार्यकर्ताहरुलाई विविध प्रलोभनहरु आउछन । त्यसखालको जेल, नेल, यातना र हत्या, हिँसाका साथै प्रलोभनको अवस्थामा पनि पार्टी र क्रान्ति प्रति गद्दारी र बेइमानी नगर्ने कार्यकर्ता उत्पादन गर्ने कारखाना हो क्रान्तिकारी संगठन । त्यसकारण कार्यकर्ताको छनौटको आधार कार्यकर्ताको राजनैतिक चेतना र ईमान्दारिता हो । स्टालिनको भाषामा भन्नुपर्दा पार्टीले विश्वास गर्न योग्य राजनैतिक ईमान्दारिता नै कार्यकर्ताको छनौटको एउटा आधार हो ।

संगठनमा कार्यकर्ताहरुको उचित मुल्यांकन हुनुपर्दछ । मुल्याङ्कनको निश्चित बिधि हुन्छ, हुनुपर्दछ र त्यो बिधि अत्यन्तै पारदर्शी हुनुपर्दछ । कामको क्रममा कार्यकर्ताहरु विभिन्न प्रकारका देखिन्छन, भेटिन्छन्, कोही नेतृत्वको वरिपरी मात्र घुम्ने हुन्छन् कोही फिल्डमा खट्ने हुन्छन् । कोही सचेत हुन्छन् तर काम गर्दैनन्, कोही अचेत हुन्छन् तर काम गर्दछन् । कोही ईमान्दार छ तर क्षमता छैन, कोही क्षमता छ तर ईमान्दार छैन । कोही कुनै खास मौसममा मात्र देखिने मौसमी कार्यकर्ता हुन्छन्, कोही सदाबहार कार्यकर्ता । कोही बिधि,पद्दति प्रक्रिया, अनुशासन केही बुझदैनन् तर अध्यारोमा छामछाम छुमछुम गरेर काम गर्छन्,कोही सबै बुझ्दछन् तर काम गर्दैनन् । कोही सांगठनिक, राजनैतिक काम गर्छन्, आर्थिक काम गर्न सक्दैनन्, कोही आर्थिक काम गर्न सक्छन्, राजनैतिक, सांगठनिक काम गर्न सक्दैनन् । कोही कार्यकर्ता कार्यालयको फाइलमा देखिन्छन् तर न बैठकमा देखिन्छन, न संगठनमा देखिन्छन् न संघर्षमा कहिँ पनि देखिदैन् । कोही कार्यकर्ता कार्यालयको फाइलमा देखिन्छन अनि बैठकमा देखिन्छ चर्का कुरा गर्छन तर उनीहरु न संगठनमा देखिन्छन् न संघर्षमा कहिँ पनि देखिदैन्, फेरि अर्को चोटी बैठकमा देखिन्छन् । कोही कार्यकर्ता कार्यालयको फाइलमा देखिन्छन् साथै बैठक, संगठन र संघर्ष सबैतिर सधै देखिन्छन् । यी र यस्ता सबैप्रकारका कार्यकर्ताहरुको उचित मुल्यांकन गर्न पार्टी चुक्नु हुदैन ।

एकपटक फिल्डमा हिड्ने क्रममा एकजना साथीसंग मेरो भेट भयो । करिव ८ वर्षसम्म हामीले एउटैै पार्टीमा संगै काम गरेका थियौ । कालान्तरमा पार्टी विभाजन भयो, हामी फरक फरक पार्टीमा क्रियाशील भयौ । छक्का पन्जा नजान्ने, खुरुखुरु काम गर्ने ईमान्दार स्वभावका ति साथीसंग प्रसंगवस उनको पार्टी हैसयतको बारेमा कुराकानी भयो । उनले भने, पार्टीमा क्रियाशीलता र क्षमताको आधारमा कार्यकर्ताको मुल्यांकन हुने र हैसियत निर्धारण हुने जमाना छैन अचेल । पार्टीको काम गर्ने पछाडी हुन्छ, नेताको काम गर्ने अगाडि, पार्टीमा पसिना बगाउने पछाडि हुन्छ नेतालाई पैसा बुझाउने अगाडि । यति भनेर उनले अर्को एकजना उनकै पार्टीको साथी जो मैले राम्ररी चिन्ने मान्छेको प्रसङ्ग जोडेर भने, एक पटक फलानोलाई मैले भने तपाई खोई हिजो आज न बैठक, न कार्यक्रम कतै देखिनु हुन्न भनेको मात्रै थिए उसले ठट्टाको शैलीमा जवाफ दियो, ठिक छ तपाई हिड्नुस, कुड्नोस तर जति हिडे, कुदे पनि आखिर तपाई भन्दा म नै माथि हो क्यारे, नभन्दै एक महिना पछाडी उसको बढुवा भएर म भन्दा एक तह माथि पो गयो । उनले थपे, यसको कारण हो गलत व्यक्तिहरुले नेतृत्वको अगाडि टिलिक मिलिक गर्ने , नेतृत्वलाई प्रभावमा पारेर अन्धो बनाउने र नेतृत्वले अन्धो भएर निर्णय लिने प्रवृति । अवश्य क्रान्तिकारी पार्टीमा त्यस्तो हुदैन ,हुनुहुदैन । कार्यकर्ताको ईमान्दारिता, सक्रियता र क्षमता मुल्याङ्कनको आधार हो ।

क्रान्तिकारी संगठन (कम्युनिस्ट पार्टी ) फुर्सदमा टाईमपास गर्ने ठाउ होईन । क्रान्तिकारी संगठन नेता बन्ने शोख पुरा गर्ने ठाउँ पनि होईन । यो त टाउकाले टेकेर उल्टो हिडिरहेको समाजलाई खुट्टाले टेकाएर सुल्टो हिडाउने महान अभियानको एउटा मुख्य अंग हो । कम्युनिस्ट पार्टीका सदस्यहरु यहि अभियानका अथक अभियन्ताहरु हुन् । यो अभियानमा भोकै बस्नुपर्ने, नांगै हिड्नु पर्ने, यातना भोग्नुपर्ने र मृत्युवरण गर्नुपर्ने सामान्य कुरा हुन् । त्यसैले उनीहरु सधै सक्रिय हुनुपर्दछ र हुन्छन् । कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु सचेत र सक्रिय मात्र भएर पनि पुग्दैन उनीहरु क्षमतावान पनि हुनुपर्दछ । महान माओत्सेतुङ्को शब्दमा भन्नुपर्दा कम्युनिस्ट कार्यकर्ताहरुमा ज्वारभाटासंग जुध्दै अघि बढ्ने साहस,शौर्य र क्षमता हुनुपर्दछ । कार्यकर्ताको मुल्याङ्कनको सन्दर्भमा माओत्सेतुङ् भन्नुहुन्छ, एउटा कार्यकर्ता पार्टीको नीतिलाई लागुगर्न दृढ छ छैन, पार्टी अनुशासन पालना गर्छ गर्दैन ,जनतासंग गाढा सम्बन्ध छ छैन, सक्रिय, मेहनती र निस्वार्थी छ छैन भन्ने गुणमा ध्यान दिनै पर्दछ । माओत्सेतुङ्ले यो विषयलाई अझ परिस्कृत गर्दै क्रान्तिकारी संगठनमा कार्यकर्ताको मुल्यांकन सम्बन्धि लाल र दक्ष को नीति निर्माण गर्नुभयो । र, वहाले लाल र दक्ष मध्य लाल प्रधान हो र दक्ष गौण हो भन्नु भयो । वास्तवमा यहि ढंगको सचेतता, ईमान्दारिता, सक्रियता र कुशलताको आधारमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुको मुल्यांकन हुनेगर्दछ ।

कार्यकर्ताको रेखदेख गर्ने ,कार्यकर्ताको रक्षा गर्ने ,कार्यकर्तालाई प्रशिक्षित गर्ने काम संगठनले गर्नु पर्दछ । कार्यकर्ताको रेखदेख सम्बधमा माओत्सेतुंग भन्नुहुन्छ, “बिना जाँचको काम गर्न दिनु र ठुल्ठुला गल्ति भईसकेपछि मात्र हेर्नु कार्यकर्ताको हेरचाह गर्ने तरिका होईन । गल्ती गरेका कार्यकर्ताप्रति सम्झाउने बुझाउने तरिकाको प्रयोग गर र उनीहरुलाई आफ्ना गल्ति सच्याउन मद्दत गर । कार्यकर्ताको स्तर उठाउ, उनीहरुलाई अध्यन गर्ने अवसर दिएर शिक्षित पार । कार्यकर्ताहरुका कठिनाईमा मद्दत गर, बिरामी पर्दा आर्थिक संकट पर्दा घरेलु दुखले आपतपर्दा कार्यकर्तालाई हेरविचार गर । वास्तवमा कस्ता कार्यकर्ता उत्पादन गरिन्छ त्यस्तै संगठन निर्माण हुन्छ । पार्टीका कार्यकर्ताहरुको नियमित जाचबुझ हुनुपर्दछ । जिम्मेवारी दिनुभन्दा पहिले कार्यकर्ताको क्षमतावारे प्रस्ट हुनुपर्दछ त्यसो भएमात्र जिम्मेवारीको सहि ढंगले सदुपयोग हुन्छ । जिम्मेवारी दिईसके पश्चात कार्यकर्ताले उक्त जिम्मेवारी कसरि पुरा गर्दैछ ? जिम्मेवारीको सदुपयोग हुदैछ या दुरुपयोग ? आवस्यक चेकजाच भैरह्नुपर्द्छ । नियत सहि हुँदाहुँदै परिस्थिति जन्य कारणले या भूलचुकले हुने गल्तिमा कार्यकर्तालाई हतोत्साही र निराश हुने ढंगले नैसियत दिनुहुदैन । बिमारीलाई उपचार गर्ने, नीति अनुसार उनीहरुलाई सच्याउने कोशिष गर्नुपर्दछ । कार्यकर्ता नै भबिस्यका नेता हुन्, उत्तराधिकारी हुन् त्यसकारण उनीहरुको स्तरको बिकास गर्न सहयोग गर्ने, अध्यन र प्रशिक्षणको नियमित प्रबन्ध मिलाउने गर्नुपर्दछ ।

त्यस्तै पार्टी एउटा परिवार हो र पार्टीका सबै सदस्यहरु एउटैं परिवारका सदस्यहरु हुन् । त्यसकारण पार्टीले सम्पूर्ण पार्टी सदस्यहरुको आ-आफ्नो पार्टी कमिटि मार्फत रेखदेख गरिरहनुपर्दछ । पार्टीमा विचारको कुरा मुख्य हुन्छ तर पार्टी सदस्यको भावना पनि सामान्य हुदैन । एकजना पार्टी सदस्यलाई दुख्दा सिंगो पार्टीका सबै सदस्यहरुलाई चसक्क छोएको अनुभूति हुने खालको बातावरण पार्टीमा हुनुपर्दछ । सम्बन्धित पार्टी कमिटिको जिम्मेवार नेतृत्व सधै आफ्नो कमाण्ड अन्तर्गतका पार्टी कार्यकर्ताहरुको सम्पर्कमा रहनुपर्दछ ।

कार्यकर्ताहरुका बिबिध समस्याहरु हुन सक्दछन त्यो अवस्थामा पार्टी कमिटि र सम्बन्धित कमिटिको नेतृत्व चनाखो हुनुपर्दछ । उनीहरुको समस्यामा उदासिन हुने, बेवास्ता गर्ने गर्नुहुदैन सहयोगको निम्ति प्रयत्न गर्नुपर्दछ । पार्टी कमिटिको बैठकहरुमा पार्टी सदस्यहरुको व्यक्तिगत समस्या के छ ? र त्यसको समाधानको निम्ति सम्बधित पार्टी कमिटीले कस्तो भूमिका खेल्न सक्दछ ? भन्ने बारेमा पनि औपचारिक र अनौपचारिक नियमित छलफल हुनुपर्दछ ।

कार्यकर्ताहरुको प्रयोग, परिचालन उचित ढंगले गरिनु पर्दछ । संगठन, संघर्ष ,प्रचार र प्रशासन मध्य जुन कार्यकर्ता जे बिषयमा दक्ष छ उसलाई त्यहि क्षेत्रको जिम्मेवारी दिनुपर्दछ । त्यसो गरियो भने कार्यकर्तालाई कमजोरी होईन क्षमता प्रदर्शनको अवसर प्राप्त हुन्छ साथै पार्टीको काम पनि ब्यबस्थित ढंगले अघि बढ्छ । कार्यकर्ता परिचालनमा विभागीयवाद लाई प्रशय दिनुहुदैन । आफ्नो विभागको हितलाई केन्द्रमा राखेर कार्यकर्ताको कार्यक्षेत्र निर्धारण गर्ने प्रवृतिलाई विभागीयवाद भनिन्छ । विभागियवादले पार्टी र क्रान्तिको हित गर्दैन ।

पार्टीको आम कार्यदिशा र कार्यनीतिमा एकरुपता हुदाहुदै पनि कतिपय कारणले कार्यकर्ताहरु बीच अन्तरविरोध उत्पन्न हुन सक्ने कुरालाई पनि अस्विकार गर्न सकिन्न । एकतामा सामेल पुर्व समुहहरुबीच, पुराना र नयाँ कार्यकर्ताहरुबीच, जातीय, क्षेत्रिय र लिंगीय बिबिधताहरु बीच, विभिन्न जबसलगायत बिबिध कार्यक्षेत्रहरुमा कार्यरत कार्यकर्ताहरु बीच, स्थानिय र अन्य ठाउँबाट आएका कार्यकर्ताहरुबीच अस्वभाविक अन्तरविरोध हुनसक्दछन् । ति अन्तरविरोधहरुले पार्टीको विसमा गतिरोध उत्पन्न गरिरहेका हुन्छन् । त्यस अवस्थामा पार्टीले सचेत पहलद्वारा त्यस्ता समस्याहरुको तुरुन्तै समाधान खोज्नुपर्दछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार