१० वर्ष जनयुद्ध गरेर मुलुकलाई परिवर्तन गर्छु भनेका र त्यसपछि मुलुकको मुल राजनीतिमा आएका अहिलेका सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड अहिले ‘घर न घाट’को भएका छन् ।

भन्नलाई सत्तारुढ दलको अध्यक्ष हुन तर, उनले भनेको केही चल्दैन । न उनको सर्वोच्च अदालतमा कुनै भरपर्दो मान्छे छ, न त अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुरक्षा निकाय, सम्पत्ति सुद्धिकरण विभाग वा निजामति कर्मचारीमा । यसले उनी पदका लागि मात्रै अध्यक्ष भएको जस्तो भएका छन् ।

२०७४ सालको निर्वाचनमा तत्कालिन एमालेसँग प्रचण्ड अध्यक्ष रहेको मओवादी केन्द्रले चुनावी तालमेल गर्‍यो । त्यो तालमेलले सफलता प्राप्त गरेपछि २०७५ जेठ ३ गते दुई पार्टी मिलेर नेकपा बन्यो र तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष बने ।

ओली प्रधानमन्त्रीसहित पहिलो वरियताको अध्यक्ष बने, प्रचण्ड दोस्रो वरियताको अध्यक्ष । अहिले पार्टीमा सबै ओलीको चल्छ, प्रचण्ड नाममात्रैका अध्यक्ष छन्, भन्न भने कार्यकारी अध्यक्ष भनिएको छ ।

जति नै प्रयास गर्दा पनि उनले ओलीबाट आफूमा कार्यकारी अधिकार ल्याउन सकेका छैनन् । न त पार्टीलाई नै बदनाम बनाउनेगरी सरकारले काम गर्दा पनि सचेत गराउने र अति भएपछि हटाउन पार्टीमा बहुमत जुटाउन सक्छन् ।

तसर्थ उनी अब त्यहाँबाट छुटिएर नयाँ पार्टी बनाएनन् भने उनको सत्ता र शक्तिमा पुग्ने आसा सपना मात्रै हुन्छ ।

नेकपा फुटाएर पुरानो माओवादी केन्द्रका सबै नेताहरु र जतिसक्यो पूर्वएमालेका नेता चोरेर नयाँ पार्टी बनाउने ध्याउन्नमा लाग्नुपर्छ । त्यो अहिले जारी स्थायी समितिबाटै प्रचण्डले यस विषयको छिनोफानो गर्नुपर्छ । त्यसो गरेमात्रै उनी शक्तिमा पुग्छन् ।

सकभर प्रचण्डले अहिले ओलीविरुद्ध गठजोड बनाएका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष वामदेव गौतमलाई पनि आफूसँगै ल्याउन प्रयत्न गर्नुपर्छ ।

त्यसपछि कांग्रेसलाई पनि हातमा लिएर सरकार बनाउने र जनताका समस्याको समाधान गर्नेतर्फ बाँकी दुई वर्षको अवधिमा लागेभने मात्रै अर्को निर्वाचनमा उनी नेतृत्वको नयाँ बन्ने पार्टीले बहुमत ल्याउन सक्छ ।

यस विषयमा बेलैमा ध्यान दिन आवश्यक छ, अन्यथा अहिलेकै जस्तो अवस्थामा बसिरहनु शिवाय प्रचण्डले केहि गर्न सक्दैनन् । वर्णमिडियाले गरेको विश्लेषण ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार