
पार्टीमा राजीनामा आएपछि ओलीले राष्ट्रपतिलाई भेट्नुलाई नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवालीले शंकास्पद भनेका छन् ।सत्ता छाड्न दबाब बढेपछि ओलीले डटेर सामना गर्ने तयारीका लागि छलफल बढाएका हुन् । उनलाई निकटस्थ स्थायी कमिटि सदस्य र सांसदहरुले भेटेर सुझाव समेत दिएको बुझिएको छ ।
ओलीले राष्ट्रपतिलाई संकटकाल घोषणा गर्न लगाउने, मध्यावधि चुनाव घोषणा गर्ने, नेकपा बिघटनको निर्णय लिएर नेकपा एमाले ब्युँताउने सम्मको विकल्पबारे छलफल बढाएका हुन् । उनका सामु अविश्वासको प्रस्ताव सामना गर्ने सम्मको विकल्प समेत बाँकी रहेको छ ।
यी विकल्प मध्येमै जाने तयारी ओलीको रहेको विश्वस्त स्रोतले बताएको छ । निर्वाचन आयोगमा सन्ध्या तिवारीमार्फत् ओलीले नेकपा एमाले पार्टी दर्ता गर्न प्रक्रिया बढाएको बामदेव गौतमले खुलासा गरिसकेका छन् । यसबाट उनी सत्ता नछाड्ने बरु जुनसुकै कदम चाल्ने निर्णयका साथ पुगेका छन् ।







