
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीलाई हटाउन सत्ताधारी नेकपाको बहुमत पंक्ति जोडबल गरिरहेको छ ।
ओलीको सत्ता संकटको भुमरीमा परिसकेको उनकै अभिव्यक्ति र व्यवहारले पुष्टि गरिसेकेको छ । त्यसैले उनलाई विस्थापित गरेपछि त्यो कुर्सीमा को बस्ने भन्ने जोडघटाउ पनि भित्रभित्रै चलिरहेको छ ।
मोटामोटी समझदारी अनुसार, अबको प्रधानमन्त्री पुष्पकमल दाहाल हुनेछन् । उनी नेकपाको अध्यक्ष पनि भएकाले उनको यो दावी स्वाभाविक पनि छ । तर पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधव नेपाल पनि यसमा लालायित छन् ।
खासगरी ओली र दाहालबीचको उग्र विवादमा नेपालले कतै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । उनले समन्वयकारी भूमिका र छवि देखाउन खोजेका छन् । ओली र दाहालको भीडन्त आफूमा आएर अवतरित हुने आकलन नेपाल र उनका शुभचिन्तकहरुको छ ।
तर प्रधानमन्त्री ओलीले भित्रभित्रै अर्कै चाल चलिरहेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग भित्रभित्रै साँटगाँठ चलिरहेको स्रोतले जनाएको छ ।
खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच बुधबार मध्यरातिसम्म छलफल भएको बुझिएको छ । ओलीका दूतहरु बुढानीलकण्ठस्थित देउवा निवास गएर राति नै ओली र देउवाबीच कुरा गराएका थिए ।
ओली र देउवाबीच भएको छलफलअनुसार, ओलीले आफ्नो सुरक्षाका लागि अब दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउनेछन् । त्यसैका निम्ति वातावरण बनाउन उनले संसद अधिवेशन अन्त्य गरिसकेका छन् ।
नेकपाको बहुमतले ओलीलाई हटाउने निश्चितप्रायः छ । तर अर्को प्रधानमन्त्री चयन नभएसम्म ओली कायमै रहनेछन् । उनले नेकपाका ४० प्रतिशत सांसद लिएर बेग्लै पार्टी गठन गर्न सके कांग्रेससँग गबन्धन सरकार बनाउन सक्नेछन् ।
देउवाले पनि सत्ताको स्वाद नपाएको अढाई वर्ष भइसकेको छ । सत्ताको प्यासले छटपटिएका देउवा आफ्ना केही निकटस्थलाई मन्त्री मात्र बनाउन पाए पनि हुने निष्कर्षसहित ओलीलाई साथ दिने वचन दिएका छन् ।
ओली पनि सत्ता जोगाउन जस्तोसुकै कदम चाल्नुपर्ने अवस्थामा पुगिसकेकाले देउवाको साथ पाउँदा राहतको अनुभव गरिरहेका छन् । ओली र देउवालाई एक ठाउँमा उभ्याउन अन्तर्राष्ट्रिय शक्तिनिकट पात्रले सहजीकरण गरिरहेको बुझिएको छ ।
तर दक्षिणी शक्ति भने ओलीका निम्ति दाहिना हुने अवस्था छैन । बरु उनलाई भित्रभित्रै साथ दिने लोभ देखाएर भड्खालोमा हाल्ने योजनामा हिँडाइरहेको पनि हुन सक्ने कतिपयको विश्लेषण छ ।







