
नेताहरुको समूह लिएर स्थायी समितिको बैठकमा जाने समय पारेर नै प्रचण्ड शुक्रबार जनार्दन शर्मालाई मात्रै साथ लिएर बालुवाटार गए । तर बैठक स्थायी समितिको थिएन । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीसँग निर्णायक वार्ता गर्न उनी त्यहाँ पुगेका थिए ।
निकै अहसज परिस्थितिमा भएको भेटमा कुराकानीको सुरुवात गर्नै समस्या थियो । सुरुवात विष्णु पौडेलले गरे । उनले मिल्ने कुरा गरौँ भनेर विषय प्रवेश गराए ।
त्यसमा प्रचण्डले थपे, ‘हामीले त मिल्ने भनेरै अहिलेसम्म सहेर बसेका हौँ । तर अब अति भयो ।’ ओली त्यतिञ्जेल सुनी मात्र रहे । बेलिविस्तार प्रचण्डले नै लाए ।
पार्टी एकीकरणको पृष्ठभूमिदेखि त्यसयता भएका छलफल, सहमति, निर्णय, पार्टी र सरकारका कार्यशैलीको कुरा उनले उठाए ।पार्टीभित्रको असन्तोष त हामी थामौँला तर बाहिर अझ धेरै असन्तोष रहेको प्रचण्डले बताए । यसमा सम्पूर्ण दोषी ओलीकै कार्यशैली रहेको उनको भनाइ थियो ।
ओलीकै कार्यशैलीले पार्टी र देशले ठूलो क्षति बेहोर्न लागेको भन्दै उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट मार्गप्रशस्त गर्नुपर्ने तर्क गरे । पार्टीका साथीहरु यसपालि कुनै होलातमा छोड्नेवाला छैनन्, बरु सहजै छाडे कुनै एउटा सम्मानजनक ठाउँ खोज्न सकिने प्रचण्डको भनाइ थियो । त्यसपछि ओली पनि जंगिए, ‘मैले किन छाड्ने ?’
उनको भनाइको सार थियो, ‘मलाई कसैले टीका लगाएर अध्यक्ष वा प्रधानमन्त्री बनाएको होइन । महाधिवेशनले अध्यक्ष बनाएको हो । महाधिवेशनमै गएर म जिम्मेवारी बिसाउँछु । तपाईँजस्तो मनोनीत अध्यक्ष म होइन । निर्वाचित अध्यक्षले मनोनीतलाई कार्यभार सुम्पेको उदाहरण कतै छ भने देखाइदिनू ।’
ओली यतिमै रोकिएनन् । प्रधानमन्त्री पद पनि छाड्न नसकिने भन्नेमा उनको तर्क थियो, ‘संसदले चुनेको प्रधानमन्त्री संसदबाहिरका दबाबसामु घुँडा टेक्दैन । संसद र संसदीय दलको सामना गर्छ । संसदबाहिर हुने भेला र भीडको दबाबमा प्रधानमन्त्रीले पद छाड्न थालेमा भोलि आउने अरु कुनै पनि प्रधानमन्त्रीले काम गर्न सक्ने छैनन् । केही मान्छे भेला पारे पद छाड्नुपर्छ ।’
ओलीलाई सम्मानजनक ठाउँ दिने प्रचण्ड प्रस्तावको पनि मजैले खण्डन गरे । ओलीको भनाइ थियो, मलाई योभन्दा अर्को ठाउँ तत्काल चाहिएको छैन । ठाउँ चाहिएको तपाईँलाई हो ।
तपाईँलाई ठाउँ नदिएको पनि होइन । कार्यकारी अध्यक्ष छँदै हुनुहुन्छ । पार्टी र संगठन ढुक्कले चलाउनूस् । अनावश्यक चलखेल नगर्नूस् । महाधिवेशनसम्म यसैगरी जाऔँ । बरु छिटो महाधिवेशन गरौँ र तपाईँले चाहनुभयो भने त्यतिखेर बरु म अध्यक्ष नलडिदिउँला ।’
प्रचण्डले ओलीलाई स्वास्थ्यका कारणले पनि आराम गर्न भनेका थिए । जीर्ण शरीरले अब धेरै गेग्न सक्दैन भन्ने उनको आशय थियो । ओलीले भने, ‘अहिलेसम्म थेगेकै छु, अझै थेग्छु, मेरो स्वास्थ्यको धेरै चिन्ता तपाईँ नलिनूस् । पार्टीको मात्र चिन्ता लिनूस् । पार्टी राम्रो बनाउनूस् । एक ढिक्का बनाउन भूमिका खेल्नूस् । अगेना सगेनातिर मान्छे भेला पारेर पार्टीलाई खरानी बनाउने कामको नेतृत्व नगर्नूस् ।’
बुधबार र बिहीबारका घटनाक्रमहरु हेर्दा ओलीमाथि गरिएको प्रचण्डको यसपटकको आक्रमण पनि निस्तेज भएको छ । अब प्रचण्ड जता फर्के पनि शून्य हात लाग्ने संकेत देखिएको छ । प्रचण्ड आफै चतुर रणनीतिकार हुन् । तर उनीभन्दा धेरै चतुर भएर ओली निस्कँदा उनका एकपछि अर्को रणनीति असफल भइरहेका छन् ।
ओलीले प्रचण्डका कमजोरी राम्ररी थाहा पाइसकेका छन् । प्रचण्ड मात्र होइन, उनीसँग भएका अरु नेताहरुको पनि खुट्टी छामेका छन् ।
प्रचण्डले स्वकीय सचिव बनाउनुपर्ने बिना मगर, शक्ति बस्नेतहरुलाई मन्त्री बनाएका छन् । अर्को पार्टीबाट आएका रामबहादुर थापालाई आफ्नो टिमको नेतृत्व दिएर पठाएका छन् । ओलीले उपेन्द्र यादवको जति हैसियत पनि थापालाई दिएका छैनन् ।
प्रचण्डको सचिवालय र सल्लाहकार मण्डल काम नलाग्ने र पुरातन शैलीको छ । उनलेभन्दा बढी सूचना वामदेव गौतमले पाउँछन् । मन्त्रिपरिषदमा आफ्ना मान्छे त पठाएका छन् र तिनलाई राज्ययन्त्र कसरी छल्छ भन्ने कुनै जानकारी छैन ।
यही कमजोरीमा टेकेर विष्णु रिमालले समानान्तर सरकार चलाइरहेका छन् । मन्त्रालयका कतिपय निर्णय मन्त्रीहरुले केवल बोधार्थ मात्र पाउँछन् ।भरतपुरमा कांग्रेसका कार्यकर्ताहरुले रगत, पसिना र साख नै धुलोमा बगाएर प्रचण्डपुत्री रेणु दाहाललाई जिताए । त्यसप्रति कृतघ्नतापूर्वक उनले कांग्रेसलाई आमनिर्वाचनमा लात हाने र एमालेसँग मिल्न गए ।
प्रचण्डले कांग्रेसलाई त्यतिखेर धोका नदिएको भए बरु अहिले थोरै सांसद सही, केही स्वाभिमान हुन्थ्यो । तर अहिले कांग्रेसले प्रचण्डलाई भन्दा ओलीलाई विश्वास गरिरहेको छ । केही गरी प्रचण्डले ओलीलाई धोका दिए सत्तामा काँध थाप्न तयार रहेको सन्देश कांग्रेस सभापति शेरबहादुर देउवाले दिइसकेका छन् ।
एमालेको चरित्र नै बुझीकन प्रचण्डले हिजो पार्टी विलय गराउँदा नतिजा अहिले बेहोरिरहेका छन् । हिजो प्रचण्डलाई ओलीविरुद्ध उचाल्ने एमालेहरु अन्तिम समयमा जबजको छातामुनि गएर प्रचण्डलाई नै हियाउनेछन् । घनश्याम भुसाल, योगेश भट्टराईहरुलाई हेरे हुन्छ, उनीहरुलाई प्रचण्डको स्वाभिमानभन्दा ओलीको अभिमानको सुरक्षा बढी सरोकारको विषय बनेको छ ।
अन्तिममा एमालेहरु एक ठाउँमा आउँछन् र प्रचण्डलाई १७ हजार नेपालीको मृत्युको बिल्ला भिडाउँछन् भन्ने कुराको समयमै हेक्का नराख्दाको परिणति अहिले देखिँदै छ । राष्ट्रपति, प्रधानमन्त्री, पहिलो अध्यक्षदेखि प्रमुख पदहरु ओलीको पोल्टामा राखेर पार्टी र सरकार कब्जा गर्छु भन्ने प्रचण्डको दिवास्वप्न थियो । भएको सभामुख पद पनि झण्डैझण्डै उनले सुवास नेम्वाङलाई चढाइसकेका थिए ।
एमालेजस्तो ठूलो दलको नेता बन्ने लोभमा मोहित भएर सबै कुरा एमालेलाई चढाउँदै जाने क्रममा अहिले उनी जता हेरेर पनि हात लाग्यो शून्यको अवस्थामा पुगेका हुन् ।
ओलीसामु प्रचण्ड निरीह बन्नुपर्ने अवस्थामा किन पनि पुगेका हुन् भने सारा राज्यसंयन्त्र ओलीको हातमा छ । सम्पत्ति शुद्धीकरण विभागदेखि अख्तियार ओलीको हातमा छ । उस्तै परे न्यायालय समेत ओलीको आशयबाट धेरै पर जाने देखिँदैन । प्रचण्डका हरेक कमजोर नसा ओलीलाई थाहा छ र कुन बेला कुन नसानेर दबाउने भन्ने पनि उनलाई थाहा छ ।
ओलीले भारतसँग त्यसै जोरी खोजेका छैनन् । उनको पछाडि ठूलो शक्ति छ । त्यो शक्ति भारतीयले भन्ने गरेझैँ चिनियाँ होइन । बरु पश्चिमाहरुले उनलाई पूरापूर साथ दिएका छन् । भारतीयहरु पनि पश्चिमासँगै बढी हच्किन्छन् भन्ने ओलीलाई राम्रोसँग थाहा छ ।
एमसीसीमा लिएको अडानले पनि ओलीलाई सत्तामा टिक्न र अरुलाई साइजमा राख्न राम्रै काम गर्नेछ । एमालेनिकट एनजीओहरुदेखि अधिकारकर्मी र अन्तर्राष्ट्रिय अधिकारवादी संस्था अनि काठमाडौँका केही बुद्धिजीवी प्रचण्डको विरुद्धमा विज्ञप्ति जारी गर्न हरबखत तयार छन् ।
द्वन्द्वकालीन मुद्दाको तरबार झुण्ड्याएरै पनि ओलीले प्रचण्डलाई काबुमा राखिरहनेछन् । तसथै, नेकपाभित्र देखिएको अहिलेको रडाको केवल चिया कपमाथिको तुफान सावित हुने सम्भावना प्रबल छ ।
वर्णमिडियाका लागि नारायण दहालले तयार पारेको रिपोट ।







