![]()
ढाडमा टेकेर टाउकामा हान्ने । कुनै बेलाको खुब चल्तीको पदावली । माओवादी लडाकुले काठमाडौँमा हमला गर्न वरिपरिको क्षेत्र कब्जा गर्न २०६१-६२ मा बनाएको रणनीति । यसका सूत्रधार थिए, प्रचण्ड ।
यो पदावली पछिसम्मै चर्चित रह्यो । यो चर्चा प्रचण्डको छविसँग जोडिएको छ । प्रचण्डको छवि क्रान्ति, आक्रमण, हिंसा, लडाइँ, षड्यन्त्रजस्ता विध्वंसका विम्बसँग बढी नजिक छ ।
प्रचण्डले नायक बन्ने अवसर पटकपटक गुमाएका छन् र भिलेनका रुपमा धेरैपटक चित्रित भएका छन् । नेपाली मनोविज्ञानमा रचनात्मक छाप छाड्ने अवसर पाएर पनि उनी पटकपटक चुकेका छन् ।
अहिले उनी पूर्वएमालेका नेताहरु माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको काँधमा टेकेर ओलीमाथि प्रहार गर्न खोज्दै छन् । त्यसनिम्ति हरसम्मभव हत्कण्डा अख्तियार गर्ने मानसिकता उनमा देखिन्छ । तर, यसमा सफल हुने लक्षण कतै देखिँदैन ।
जनयुद्धताका प्रचण्डका हरेक योजना कार्यान्वयन हुन्थे । कारण, उनी माओवादीको फौजी संगठनका सर्वोच्च कमाण्डर थिए । तर अहिले उनले भन्नेबित्तिकै सबथोक गर्न न उनको फौज छ, न त चुस्त कार्यकर्ता पंक्ति ।
खासमा प्रचण्डसँग खाँटी कार्यकर्ता बाँकी नै छैनन् । ठूलो हिस्सा शान्ति प्रक्रियापछि नेतृत्वमा आएको विचलनबाट विरक्तिएर खाडी र मलेसियातिर हान्निएको छ । बाँकी हिस्सा विप्लव, मोहन वैद्य र बाबुराम भट्टराईसँग बाँडिएको छ । प्रचण्ड एमालेमा मिसिँदा उनका वरिपरिका केही लोभीपापी नेता मात्रै मिसिएका छन् ।
अहिले ओलीमाथि आक्रमण गर्नुअघि प्रचण्डले आफ्नो हैसियत, धरातल र एमाले पंक्तिको मनोविज्ञान बुझ्नु जरुरी छ । कस्तो छवि बनाउँदा उनी यो संगठनको नेता बन्न सक्छन् र कार्यकर्ता पंक्तिले उनलाई आत्मसात् गर्न सक्छन् ? त्यो पक्ष हेर्नु जरुरी छ ।
छोरी रेणु दाहाललाई भरतपुरको मेयरमा जिताउँदा सारा राज्य र गैरराज्य संयन्त्र परिचालन गर्दा पनि दुईपटक चुनाव गर्नुपरेको थियो । यही घटनाले प्रचण्ड कुन हैसियतमा पुगेका थिए भन्ने प्रस्ट हुन्छ ।
गएको चुनावमा कांग्रेससँग मिलेर आफ्नो भविष्य सुरक्षित नहुने निश्चित भएपछि उनी ओलीसँग काँध जोड्न पुगेको सबैसामु छर्लंग नै छ ।
तत्कालीन एमाले नेपालको सबैभन्दा सुगठित र व्यवस्थित संगठन भएको पार्टी हो । यस संगठनको नेता बन्नु हरेक नेपाली राजनीतिज्ञको सपना हुन्छ । प्रचण्डले पनि शान्ति प्रक्रियामा प्रवेश गरेको केही समयपछि संगठन होस् त एमालेको जस्तो भनेका थिए । एमाले पंक्तिको विश्वास जित्न उनले हेटौँडा महाधिवेशनबाट मदन भण्डारी र उनको ।जबज अवधारणाको तारिफ पनि गरे ।
नभन्दै प्रचण्डले यस संगठनको नेता बन्ने ढोका पनि खुल्यो । २०७४ को निर्वाचनअघि एकता घोषणा समारोहमा प्रचण्डले एमाले कार्यकर्ताको ठूलै ताली पनि पाए । त्यही तालीबाट हौसिएर देशव्यापी चुनावी सभामा भाषण गरे । २०७५ जेठ ३ गते एकता भयो । एमाले कार्यकर्ताले उनलाई सहर्ष स्वीकार गरे ।
अहिले भने प्रचण्ड अनपेक्षितरुपमा हौसिएका छन् । एमालेभित्रका दुई खेमाको परम्पारगत तुषमा उनी आफ्नो भविष्य खोजिरहेका छन् । यसले देशकै ठूलो पार्टीको प्रमुख बन्ने उनको लक्ष्य पूरा हुने देखिँदैन । यसले पुनः उनको विध्वंशक छवि स्थापित हुने प्रबल सम्भावना छ ।
जनयुद्धका मास्टरमाइन्ड एवं माओवादी फौजका सर्वोच्च कमाण्डर यिनै प्रचण्ड हुन् भने उनी तत्कालीन लाभको लोभ वा कसैको उक्साहटमा ओलीमाथि जाइलाग्नु हुँदैन । उनी लामो दौडका घोडा बन्न सक्नुपर्छ ।
प्रचण्डले बुझ्नुपर्छ, ओलीमाथि आक्रमण गरेर उनी एमाले पंक्तिलाई विश्वासमा लिन सक्ने छैनन् । एमाले पंक्ति केवल केही पद र संगठनका अगुवाहरु मात्र होइनन्, व्यापक जनसमुदाय र शुभचिन्तक रहेको वैचारिक धार हो ।
समाजका हरेक वर्ग, क्षेत्र र पेसामा संगठन हुनु एमालेको सम्पत्ति हो । झट्ट हेर्दा कोही कार्यकर्ता वा संगठित सदस्य नदेखिनेहरु पनि एमालेलाई लेबी तिर्छन् । हरेक चुनावमा सूर्यमा भोट हाल्छन् । ओली, नेपाल, खनाल वा गौतमलाई नचिन्नेहरु पनि चुनावमा सूर्य चिन्हलाई चिन्छन् ।
प्रचण्डले बुझ्नुपर्छ, वामदेव गौतमले पार्टीका आधा नै नेता कार्यकर्ता लिएर माले बनाउँदा पनि चुनावमा एक सिट नै नजित्नुको कारण के थियो ? कारण थियो, वामदेवले एमालेका वास्तविक शुभचिन्तकको विश्वासमा प्रहार गरे ।
अहिले पनि वामदेव एक विध्वंशक छवि बनेर तिनको छातीमा बसेको छ । त्यही भएर उनलाई चुनाव लाग्यो कि बर्दिया जाऊँ कि प्युठान भन्ने प्रश्नले सताउन थाल्छ ।
अहिले प्रचण्ड फेरि विभाजनका कारक बन्दै छन् भन्ने छाप एमाले पंक्तिमा परिसकेको छ । विगतमा विभाजनको पीडा खेपेका, मूलधारबाट बाहिर परेका नेताहरुले यो कुरा बुझिसकेका छन् ।
त्यसैले मन्त्री पदमै रहेर उनीहरु एकताका लागि दबाब दिइरहेका छन् । केन्द्रीय सदस्य भएर उनीहरु पार्टी कार्यालयमा धर्ना दिइरहेका छन् । सडकमा पार्टी फुटाउन खोज्नेमाथि खबरदारी सुरु गरेका छन् ।
चिया पसलमा धारे हात लगाउन सुरु भइसकेको छ । यस्तो अवस्थामा प्रचण्ड कुन बहकाउमा लागेर फेरि आफ्नो विध्वंशक छवि समाजमा छताछुल्ल पार्न खोज्दै छन् ? के भोलि उनलाई जनतासामु जान कुनै संगठन चाहिँदैन ?
वास्तवमा भन्ने हो भने यतिखेर प्रचण्ड राजनेता बन्ने अवसर छ । रचनात्मक छवि निर्माण गर्ने मौका छ । ओली र नेपालको परम्परागत वैमनुष्यताका बीच उनी एक समन्वयकारी नेता बन्ने ठाउँ छ ।
आसन्न संकटले आकुल व्याकुल भएको एमाले पंक्तिलाई राहतको वर्षा गरेर शीतलता प्रदान गर्ने अचुक उपाय छ । यो सुगम र शान्तिपूर्ण बाटो हुँदाहुँदै उनी किन ध्वंशको बाटो रोज्दै छन् ? बुझिनसक्नु छ ।
प्रचण्डले देशको सबैभन्दा ठूलो दलको प्रमुख बन्ने इरादा त्यागेका हुन् र ओलीको सेखी मात्र झार्न वा तत्काल कुनै पदमा पुग्न खोजेका हुन् भने अहिलेलाई भन्नु केही छैन । होइन, अबको केही वर्षपछि पनि केन्द्रीय राजनीतिको मियो भइराख्ने हो भनेचाहिँ केही धैर्य मात्र गरे पुग्छ ।
उनले त्याग गर्नुपर्ने पनि केही छैन । यति ठूलो दलको अध्यक्ष उनी छँदै छन् । अर्का अध्यक्ष जीर्ण शरीर र देशकै अभिभारा बोकेर बालुवाटारमा विराजमान छन् । प्रचण्डलाई सत्तारुढ दलको अध्यक्षका हैसियतले देश दौडाहा गर्ने अवसर छ ।
देशभरका एमाले कार्यकर्तासँग हात मिलाउने, फोटो खिच्ने, सँगै खाने, खाएका भाँडा सँगै माझ्ने, केही दिन पैदल हिँड्ने, केही उकाला ओराला गर्ने । धेरै सभा, जुलुस पनि गर्नुपर्ने छैन ।
जनताका पीरमर्कासँग एकाकार हुने । देखेका समस्या सरकारसम्म पु¥याइदिने । आफूले नियुक्त गरेका मन्त्री, मुख्यमन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधि छन् । तिनलाई भनिदिने । राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा सहयोग र समझदारीका लागि समन्वय गरिदिने । बस् ।
यति भएपछि कार्यकर्ता र जनतालाई के चाहियो ? आउँदो चुनावमा प्रचण्डले धेरै दुःखै गर्नुपर्दैन । महाधिवेशनमा उनका पक्षमा त्यसै माहोल बन्नेछ ।
ओलीलाई चिढ्याउने र बिच्क्याउनेभन्दा उनका हरेक कामको जस अपजस आफूले लिने हो भने उनलाई एमाले पंक्तिले रुचाउनेछ । नक्सा आफूले जारी गर्न लगाएको भन्ने प्रचण्डले ओलीका अरु काममा पनि आफू दोषी रहेको सार्वजनिक रुपमा भन्न सक्नुपर्छ । उनी विरोधी खेमा होइन, संस्थापन बन्न सक्नुपर्छ ।
पार्टीका हरेक मन्त्री वा सांसदले कहाँ के गडबडी गरेका छन् भनेर सोधीखोजी गर्न र सम्झाउन उनलाई केले रोकेको छ ? त्यो गर्न सक्नुपर्छ । पार्टीभित्र जवाफ खोज्ने र पार्टीबाहिर प्रतिरक्षा गर्ने हो भने एमाले पंक्तिले उनलाई राजनेता ठान्नेछ । पुष्पलाल र मदन भण्डारीपछि उनको फोटो भित्तामा टाँस्नेछ ।
अहिले नै पनि यस पार्टीमा प्रधानमन्त्री हुनुमा भन्दा पार्टी अध्यक्ष हुनुमा बढी सम्मान र शक्ति छ । ओली सरकारलाई सफल बनाउन भूमिका खेले एमाले मात्रै होइन, गैरएमाले जनमत उनको पक्षमा उभिन सक्नेछन् ।
यो तथ्यलाई नजरअन्दाज गरी नेकपालाई ध्वंशको बाटोमा अग्रसर गराएमा प्रचण्ड पुनः एक विध्वंशक र भिलेनको रुपमा जनमनोविज्ञानमा बस्नेछ । एमाले सिध्याउने चरित्रका रुपमा उनलाई लिइनेछ ।
उनको अविश्वसनीय र अस्थिर चरित्रबाट बेचैन भएकै कारण सत्तारुढ दलभित्रको किचलोमा प्रतिपक्षी कांग्रेस खुसी मनाउन सकिरहेको छैन । बरु प्रधानमन्त्री ओलीकै भरथेगमा जुटेको छ । यसबाट पनि प्रचण्डले आफ्नो राजनीतिक धरातल कति बलियो छ भनेर मूल्यांकन गर्न सक्छन् ।
वर्णमिडियाका लागि नारायण दाहालको विश्लेषण ।







