
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सरकारमा सहभागि बनाएर भएपनि आफू सत्ताबाट नबाहिरिने रणनीति बनाएका छन् ।
पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला ओली आफैले भेटेर र आफ्ना विश्वासपात्र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री ओलीबाट सत्ता सहकार्यको प्रस्ताव आएको देउवाले स्वीकारेका छन् । केन्द्रीय कार्यसमिति बैठकमै देउवाले प्रधानमन्त्री र उनका दूतमार्फत सत्ता सहकार्यको प्रस्ताव आएको जानकारी गराउदै आफूले वचन नदिएको बताएका हुन ।
बुढानिलकण्ठ स्रोतका अनुसार ओलीले आफू सत्ताबाट हट्नु पर्ने अवस्था आएमा देउवालाई प्रधानमन्त्री बनाउने गरी आफू लागिरहेको र, त्यसका लागि पार्टीभित्र र अन्य क्षेत्रमा माहोल तयार पार्न सुझाएका छन् ।
ओलीले गत बुधबार साँझ देउवालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भेटेका थिए भने, आफ्ना विश्वासपात्र नेम्वाङलाई आइतबार बिहान बुढानिलकण्ठमा पठाएका थिए ।
दुवै भेटमा ओलीले सकचभर आफू प्रधानमन्त्री रहने र आकर्षक मन्त्रालयसहित सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गर्ने र त्यसमा कांग्रेस तयार नभए सरकारको नेतृत्व दिन समेत तयार हुने संकेत गरेका छन् ।
नेम्वाङले सहज ढंगले नेकपाको सन्तुलन विग्रिएकाले पार्टी फुटालेर भएपनि ओलीले प्रधानमन्त्री नछोड्ने र सहयोगका लागि आपग्रह गर्न पठाएको देउवालाई बताएका थिए । निकटस्थ स्रोतका अनुसार देउवालाई नेम्वाङले गृह र अर्थसहितका महत्वपूर्ण मन्त्रालय लिएर सत्तामा आउन प्रस्ताव गरेका थिए ।
ओलीले कांग्रेसले माने आफू नेतृत्वमै कांग्रेसलाई सरकारमा सहभागी बनाएर आफूविरुद्ध गठबन्धन निर्माण गरेका नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेतालाई जिल्याउने र कांग्रेसले त्यो नमाने सरकारको नेतृत्व दिएर भएपनि उनीहरुलाई देखाएरै छोड्ने रणनीति बनाएका छन् ।
बालुवाटार स्रोत भन्छ, सकभर पार्टीमै संघर्ष गरेर सरकारमा रहनुहुन्छ, त्यो सफल हुन नसक्ने अवस्था आयो भने दोस्रोमा कांग्रेसलाई आकर्षक मन्त्रालय दिएर सरकारमा सामेल बनाउने, त्यो पनि भएन भने कांग्रेसलाई सरकारको नेतृत्व दिएर भएपनि अरु नेतालाई जिल्याएरै छोड्ने ओलीको रणनीति छ ।
ओलीले कानुनतः पार्टी फुटाउन तयारी अवस्थामा रहेको पनि ओलीका दूतहरुले कांग्रेसलाई बताइसकेका छन् ।
सकभर आफ्नो अडानमा अडिग रहेर पार्टी एक राख्ने, त्यो सम्भव भएन भने पार्टी फुटाएरै भएपनि आफुविरुद्ध गठजोड बनाउने नेतालाई दखाइदिने ओलीको तयारी छ । त्यसका लागि ओलीले कांग्रेस र अन्य दलका नेताहरुसँग साथ मागिरहेका छन् ।
ओलीले आफू पार्टीमा अफ्टेरो परेपछि असार १७ गतेले आफैले र आइतबार नेता नेम्वाङलाई पठाएर कांग्रेससंग छलफल गरेका छन् । टेलिफोनमा भने निरन्तर सम्वाद भइरहेको बुढानिलकण्ठ स्रोतले जानकारी दियो ।
ओलीले संसद अधिवेशन अन्त्यअघि देउवालाई टेलिफोन सहयोग गर्न आग्रह गरी आफ्नो रणनीति सुरु गरेका थिए । ओलीले पार्टीभित्र समस्या रहेकाले आफू कांग्रेससँग सहकार्य गरी अगाडी बढ्न प्रस्ताव गरेका हुन ।







