सत्ताधारी नेकपामा विवाद उत्कर्षमा जाँदै गर्दा केपी ओलीले प्रचण्ड र उनको पूर्व  समुहलाई निकैं तल्लोस्तरमा पुगेर होच्याउने गरी अभिव्यक्ति दिएका छन् ।

आफ्नो समुहको नेता कार्यकर्ताहरुको भेटमा ओलीले आफ्नो विश्लेषण यसरी सुनाए, ‘अहिलेको नेकपा भनेको ७० प्रतिशत पूर्व एमाले हो, ३० प्रतिशत पूर्वमाओवादी हो । हाम्रो घर हो यो, उनीहरुको डेरा जस्तो हो । ७० प्रतिशतले ३० प्रतिशतसँग आत्मसमर्पण गरेको, पार्टी जिम्मा लगाएको संसारमा कहीँ छ ? डेरावालले घरधनीलाई खेद्न सक्छ, खेद्न पाउँछ ?’

प्रचण्ड र माधव नेपालबीच फुट ल्याउन ओलीले माधव नेपालबारे यस्तो भनेका छन्- ‘माधव कामरेड कुरै बुझ्नु हुन्न, प्रचण्डको पछि लागेर हिंड्नु हुन्छ, अहिले म छु, मलाई दङ्ग्याउँदै हुनुहुन्छ, भोलि सबैथोक प्रचण्डको हातमा गयो भने माधव कामरेडको हालत के होला ? के प्रचण्डले जनताको बहुदलीय जनवादलाई न्याय गर्दछन् ? जननेता मदन भण्डारीको बिँडो थाम्छन् ? प्रचण्ड शक्तिशाली हुँदै गए प्रचण्डपथ फर्किएला, मदन भण्डारीको ठाउँमा प्रचण्डको फोटो राख्न थालिएला, माधव कामरेडलाई त्यो स्वीकार्य छ ?’

ओलीले ‘जंगलीहरुलाई तह लगाउन र माओवादीको हिंसात्मक धारको औचित्य घुमाउरो गरी अन्त्य गर्न उनीलाई चतुराईपूर्वक न्याकेर एकतामा ल्याएको र यो एकतापछि पनि पूर्व एमालेहरुको वैचारिक विरासत र इतिहास भेटिन नहुने’ बताउने गरेका छन् ।

उनले भन्ने गरेका छन्, ‘मैले पार्टी अध्यक्ष छोडे पार्टी प्रचण्डको हातमा जान्छ । म त्यत्रो दुःखले बनाएको पार्टी जंगलीहरुलाई जिम्मा लगाउन सक्दिनँ ।’

ओलीले युवा कार्यकर्ताहरुको मन जित्न ‘शीर्षस्थ नेताहरुको सामूहिक सन्यास’ को तर्क अगाडि सार्ने गरेका छन् । उनले भन्ने गरेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, पार्टी महाधिवेशन अघि कुनै हालतमा म पार्टी अध्यक्ष छोड्न सक्दिनँ । महाधिवेशन गराएर उपयुक्त कमरेडलाई जिताएर हस्तान्तरण गर्छु । तर, सबै शीर्षस्थ साथीहरु प्रधानमन्त्री नहुन राजी हो भने, कुनै नयाँ पुस्ताको कमरेडलाई दिने हो भने म प्रधानमन्त्री चाहिँ छोड्न सक्छु तर, प्रचण्ड, माधव वा झलनाथका लागि म त्यत्रो त्याग किन गरौं ? के उनीहरुले हिजो मेरो भन्दा राम्रो सरकार चलाएका थिए ?’

झलनाथ खनालबारे ओलीको अर्कै तर्क छ । ‘झलनाथजीबारे मैले के भन्ने ? उहाँको शैली र बुताले नेपालमा यत्रो कम्युनिष्ट पार्टी बन्थ्यो ? लेख राम्रै लेख्नु होला, तर यत्रो पार्टीको व्यवहारिक व्यवस्थापन उहाँबाट हुन्छ ?’

ओलीको थप तर्क छ, ‘साथीहरु मलाई हटाउन पाए के के न हुन्थ्यो भन्ने ठान्नु हुन्छ, तर मैले बुझेको छु । मैले छोडे भने सबै शक्ति प्रचण्डमा जान्छ । एमालेहरु आफ्नै घरमा शरणार्थी हुन्छन् । माधव र झलनाथ कमरेड त प्रचण्डसँग आँखा जुधाएर कुरा गर्न समेत सक्नुहुन्न । त्यसरी कसरी हुन्छ ? म त्यस्तो किमार्थ हुन दिन्न । म दुबै पद छोड्दिनँ अहिले, तपाईहरुले कुरा बुझ्नु पर्‍यो, यी पद तपाईहरुका नासो हुन । यी पद म के सधै मैसंग राख्न सक्छु र ?’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार