केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा तीन धार देखिएको छ । सत्ताधारी नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको स्थायी समिति बैठकमा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जनाले राजीनामा मागेपछि मन्त्रिपरिषद्मा तीन धार देखिएको हो ।

पार्टीभित्रको विवाद बढ्दै गएपछि मन्त्रीहरु आफ्नो गुटमा देखिन थालेका हुन । सत्ताधारी नेकपामा नेताहरुबीच कित्ताकाट भएपछि मन्त्रीहरुले पनि आफ्नो कित्ता क्लियर गरेका स्रोतहरु बताउँछन् । स्रोतका अनुसार मन्त्रिपरिषद्मा सिफारिस गर्दा नै गुटगतरुपमा सिफारिस गरिएको थियो ।

अहिले सत्ताधारी नेकपामा प्रधानमन्त्री ओली र उनीविरुद्धको अर्का अध्यक्ष प्रचण्ड–नेता नेपाल समूह सक्रिय छन् । केही मन्त्रीहरु भने पार्टीभित्र देखिएको विवाद मिलाउन मध्यामार्गी धारमा देखिएका छन् ।

यसरी मन्त्रिपरिषद्मा तीन धार देखिएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, घनश्याम भुसाल, सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, जलस्रोतमन्त्री वर्षमान पुन र वनमन्त्री शक्ति बस्नेत जारी विवाद समाधान गरेर पार्टी एकता सुदृढ गर्नुपर्ने भन्दै मध्यमार्गी धारमा देखिएका छन् । यी मध्य ज्ञवाली मात्रै प्रधानमन्त्रीको तर्फबाट मन्त्री भएका हुन भने बाँकी प्रचण्ड–नेपाल समूहबाट मन्त्री भएका हुन ।

प्रधानमन्त्रीको पक्षमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट गृहमन्त्री रामबहादुर थापा, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा, भूमिसुधार मन्त्री पद्यकुमारी अर्याल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, महिला वालवालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरुङ, कानुनमन्त्री शिवमाया तुम्बाहाङफे ओलीको पक्षमा छन् ।

यी मध्य गृहमन्त्री तथा र आपूर्तिमन्त्री भट्ट पूर्वमाओवादी नेता भएर पनि ओलीलाई साथ दिइरहेका छन् । तर, पछिल्ला दिनमा गृहमन्त्री थापाले ओलीको साथ छोडेको चर्चा पनि बालुवाटारमा सुन्न पाइन्छ । त्यस्तै संघीय मामलामन्त्री हृदयेश त्रिपाठीले पनि ओलीलाई साथ दिइरहेका छन् ।

प्रचण्ड–माधव समूहमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, आनेपानी मन्त्री बीना मगर प्रचण्ड–माधव समूहका खास मन्त्री हुन् ।

मध्यमार्गी भूमिकामा देखिएपनि अन्तिममा मन्त्रीहरु पुन, बस्नेत, भट्टराई र थापाले पनि यही समूहलाई साथ दिने स्रोतहरु बताउँछन् ।

राज्यमन्त्रीतर्फ रामवीर मानन्धर उपाध्यक्ष गौतम नजिकका हुन । मोतीलाल दुगड र नवराज रावत प्रधानमन्त्रीतर्फ देखिएका छन् ।

ओलीले मन्त्रीहरुलाई आफू पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परेको बताएपछि कोही कित्ता क्लियर गर्न, कोही पार्टीलाई एक राख्न मध्यस्थता गर्न कस्सिएका हुन ।

तर, प्रधानमन्त्री ओली स्थायी समिति बैठकमा अफ्टेरोमा परिएमा आफूलाई सहयोग नगर्ने मन्त्रीलाई हटाएर अर्को समूहका नेता चोरेर मन्त्री बनाउने तयारीमा रहेका बालुवाटार स्रोत बताउँछ ।

साउन २ गतेका लागि बोलाइएको स्थायी समिति बैठक अघि विवाद मिलाउन दुई अधयक्षबीच छलफल नै हुन छोडेकाले नेकपाको विवाद तत्काल समाधान हुने अवस्था देखिन्न ।

यसले फेरी चौँथो पटक स्थायी समिति बैठक सर्छ या विरोधी खेमाले ओलीलाई पार्टीबाट अनुशासनको कारबाही गर्ने आट गर्छ, त्यो भने हेर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार