प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थान अयोध्याबारे गरेको टिप्पणीबाट भारतको सत्तासित भारतीय जनता पार्टी (भाजपा) आक्रोशित भएको छ ।

ओलीले सोमबार वास्तविक अयोध्या भारतमा नभई नेपालमा रहेको र भगवान राम नेपाली रहेको दाबी गरेका थिए । ओलीले विवादास्पद अभिव्यक्ति दिएको भनि भाजपाले आलोचना तथा निन्दा गरेको हो।

भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले भगवान रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘भगवान राम आस्थाको विषय हुन् हाम्रा लागि, यो आस्थामाथि खेल्न कसैलाई पनि दिइने छैन, नेपालका प्रधानमन्त्रीलाई पनि ।’

प्रधानमन्त्री ओलीले सोमबार भानुजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरी अयोध्या भारतमा खडा गरेर रामलाई भारतीय बनाएको दाबी गरेका थिए ।

ओलीको अभिव्यक्तिको नेपालमै पनि आलोचना भइरहेका बेला भारतमा यसको तीव्र निन्दा भएको हो।

भारतीय समाचार संस्था पीटीआइले नेपालका प्रधानमन्त्री ओलीको भनाई आश्चर्यजनक र स्तब्ध पार्ने खालको रहेको उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार