
‘राम भारतका होइन नेपालकै राम भनेर’ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको चर्को आलोचना भएको छ ।
नेपालका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत ओलीलाई अब छाडा छोड्नु खतरनाक हुने बताएका छन् ।
उनले ट्विटरमा लेखेका छन्– अति गरे खति हुन्छ भन्छन्! प्रधानमन्त्री केपी शर्मा ओलीका वचन–कर्मले सीमा नाघ्दैछन् । संसद्मा सिंहमेव जयते र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगत गरेर अध्यादेश–संकटकालको खड्गसमेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरानाक हुनेछ ।”
त्यसअघि भट्टराईले लेखेका थिए, “त्यसअघि उनले आधी–कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं । सिधै बैकुण्ठधामको यात्रा गरौं !”
सामाजिक सञ्जाल ट्विटरमा जुगल भुर्तेल लेख्छन्– यो रामको लफडा चैँ सबैभन्दा महंगो लफडा हो । आजको भारतमा ‘जय श्री राम’ सबथोक हुन् । तिनले बरु लिम्पियाधुरा देलान् तर राम कदापि दिँदैनन् । थाइल्यान्डमा समेत अयोध्या छ । राम सर्वव्यापी जगदीश्वर थिए, एकचोटी सबैतिर जन्मिए होलान् भनेर चित्त बुझाऔं । अब के गर्नु !”







