पार्टीभित्रको विवाद तत्काल समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अनुकुलको मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारीमा छन् ।

गत असार १० गतेबाट सुरु स्थायी समिति बैठकका क्रममा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ सदस्यले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेपछि नेकपाको विवाद चरमोत्कर्षमा पुगेको छ ।

विवाद चर्किएपछि असार १८ गतेबाट स्थायी समिति बैठक स्थगित गरेर समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डबीच वान टु वान र सहयोगीसहित करिब आधा दर्जन बैठक गरे । तर, वार्तामा दुवै नेता टसमस नगर्दा विवाद जिउका तिउ छ ।

शुक्रबारका लागि बोलाइएको बैठकबाट पनि विवाद समाधान नहुँने देखिएपछि ओलीले मन्त्रिपरिषद् पुर्नगठन र रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने गृहकार्य थालेका हुन् ।

आफू नेतृत्वको सरकारमा मन्त्री पनि रहने र आफूलाई पदच्यूत गर्ने बैठकमा सहभागी हुने मन्त्रीलाई हटाएर आफूलाई सहयोग गर्ने सर्तमा अर्को खेमाका नेतालाई मन्त्री बनाउने तयारीमा ओली लागेको स्रोत बताउँछ ।

स्रोतका अनुसार पहिलो लटमा पदच्यूत गर्ने मन्त्रीहरुको सूचीमा खानेपानी मन्त्री बिना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, जलस्रोतमन्त्री वर्षमान पुन, गृहमन्त्री रामबहादुर थापा, वनमन्त्री शक्ति बस्नेतलगायत रहेको स्रोतहरु बताउँछन् ।

ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि हटाएर अर्को खेमाका नेतालाई चोर्ने तयारी गरिरहेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री र सहरी विकास मन्त्री खाली रहेकाले ती मन्त्रालयमा पनि नयाँ मन्त्री नियुक्त गर्ने तयारी ओलीको छ ।

ओलीले मानेमा अर्थ मन्त्रीमा सुरेन्द्र पाण्डेलाई फकाउन आफ्ना विश्वासपात्रहरुलाई लगाइरेका नेताहरु बताउँछन् । मुख्यगरी पूर्व माओवादी खेमाका सांसदलाई मन्त्री बनाएमा प्रचण्डलाई कमजोर बनाउन सकिने ओलीको आकलन छ ।

ओलीले प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतमलाई पनि उपप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालयको प्रस्ताव गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार