
पार्टी विधानअनुसार सत्ताधारी नेकपा केन्द्रीय समिति बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने व्यवस्था छ । यसअघि गत माघमा केन्द्रीय समिति बैठक बसेको थियो ।
स्थायी समिति सदस्य देवेन्द्र पौडेल केन्द्रीय कमिटी बैठक बोलाइए पनि समस्या समाधान भैनसकेको केवल समस्या अलि पर धकेलिएको बताउँछन् । ‘नेकपा संकट निश्कर्षउन्मुख भएको होइन, यो पर धकेलिएको मात्र हो’, नेता पौडेलको भनाई छ ।
उनका अनुसार केन्द्रीय समितिमा भोटिङ नै गर्नुपरे पनि त्यो अन्तिम र वैधानिक निर्णय हुनेछ । उनी भन्छन्, ‘सचिवालय र स्थायी कमिटीभन्दा केन्द्रीय कमिटी ठुलो र शक्तिशाली निकाय भएकाले त्यसले निर्णय गर्नु त राम्रै हो ।’
तर, केन्द्रीय समिति बैठकअघि नेताहरुबीच आपसी समझदारीको प्रयाससमेत गरिने छ । यो प्रयासमा ओलीलाई प्रधानमन्त्री या पार्टी अध्यक्ष दुई मध्ये एक रोज्न समय मिल्नेछ । अहिलेसम्म ओली कुनैपनि पद नछोड्ने अडानमा छन् ।
‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने एक पक्षको अडान र कुनै पदबाट पनि राजीनामा नगर्ने ओलीको अडानले झण्डै एक महिनाअघि सुरु भएको स्थायी समिति ठोस निर्णय गर्न असफल भएको छ । छलफलका लागि तय गरिएका एजेण्डामा समेत छलफल हुन सकेन’, अर्का एक स्थायी समिति सदस्यको भनाइ छ ।
‘नढाँटी भन्ने हो भने नेताहरुमा व्यक्तिगत आकाँक्षाले बढी काम गर्यो । देश विकास, सुशासन, नेकपाको नीति सिद्धान्त र विचार गौण बन्यो,’ ती सदस्यले आक्रोश व्याक्त गर्दै भने ‘ओली, प्रचण्ड वा नेपाल जो सुकै हुन् यिनीहरु आफै शक्ति आर्जनमा केन्द्रीत बने ।’







