सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनले हिजो सत्ताधारी नेकपा सचिवालय बैठकलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राखेर सहमति निकाल्न खोजिन् ।

विश्वस्त स्रोतका अनुसार राष्ट्रपति भण्डारीले दुवै नेतालाई न्युनतम सहमतिको बिन्दु बनाउन मनाउन खोजेकी थिइन् । दुवै नेताको चाहना बुझेर उनले मंसिरभित्र महाधिवेशन गरी नेतृत्व हस्तान्तरणको मार्ग खोल्ने गरी सहमति बनाउन खोजेको बुझिएको छ । अहिलेलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीको राजीनामाको एजेन्डा छाडेर एकता महाधिवेशनमा बढ्ने गरी सहमति निकाल्न भनेपछि प्रचण्ड सहमत भएनन् ।

महाधिवेशनपछि प्रचण्ड नै अध्यक्ष बन्ने र ओलीलाई पूरा कार्यकाल प्रधानमन्त्रीमा समर्थन जारी राख्ने गरी सहमति निकाल्न खोजिएको थियो । यसमा प्रचण्ड केही लचिलो भएपनि पूर्ण सहमत नभएको स्रोतले बतायो ।

ओली र प्रचण्डबीच सहमति बनाउने पहल भइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल सशंकित भएका छन् । उनले दुई अध्यक्षको चोचोमोचो मिलेर मात्र नहुने अभिव्यक्ति सार्वजनिक गरे । उनले ओलीविरुद्ध देशव्यापी अभियान चलाउने चेतावनी समेत दिए ।

“पार्टीभित्र देखा परेका अहिलेको समस्याको निकास दुई अध्यक्षको सहमति मात्र होइन । दुई अध्यक्षको चोचोमोचोबाट अहिलेको समस्याको हल हुँदैन । दुई जना अध्यक्षको मात्र सहमतिमा ल्याएको प्रस्ताव मलगायत अरू साथीहरूलाई मान्य हुन्छ जस्तो मलाई लाग्दैन,” बैठकमा माधव नेपालले भनेको कुरा स्रोतले उद्धृत गर्‍यो, “मङ्सिरमा महाधिवेशन गर्न कुनै हालतमा सम्भव छैन । फेरि महाधिवेशन नेतृत्व हस्तान्तरणका लागि मात्रै गर्ने भन्ने कुरा आउँदैन । नेतृत्व हस्तान्तरणका लागि मात्रै गर्ने हो भने अरू पनि विधि छन्, बाटाहरू छन् ।”

ओलीले एकपछि अर्को अस्त्र हान्दै विरोधी क्याम्पलाई कमजोर बनाउन खोजिरहेका छन् । उनले कुनैपनि हालतमा राजीनामा नदिने प्रष्ट पारिसकेका छन् । ओलीवरोधी क्याम्पलाई कमजोर बनाउन व्यक्तिपिच्छे फरक फरक प्रस्ताव लाँदै आएका छन् । तरपनि विरोधी क्याम्प तोड्न सकेका छैनन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार