नेपालमा आज नेकपा (नेकपा) को सरकार छ । नेकपा (नेकपा ) को सरकार कम्युनिस्टको सरकार हो या होईन भन्ने सवालमा विभिन्न मत मतान्तरहरु देखियका छन् । स्वयं नेकपा (नेकपा) ले आफुलाई र आफ्नो सरकारलाई कम्युनिस्ट दावी गरिरहेको छ ।

नेपालमा कम्युनिस्टको पक्षमा जनमत राम्रो हुन्जेल उसले यो दावी गरिरहनेछ । तर उक्त पार्टी र सरकार कम्युनिस्ट हो या होइन भन्ने कुरा उसको दावीमा होइन उसले अंगाल्ने सिद्धान्त, विचार दृष्टिकोण तथा नीति र कार्यक्रममा निर्भर हुन्छ । नेकपा ( नेकपा) नव प्रतिक्रियावादी पार्टी हो भन्ने कुरामा रास्ट्रिय ,अन्तरास्ट्रिय पुराना प्रतिक्रियावादीहरु प्रस्ट छन् । फेरिपनि उनीहरुले कम्युनिस्ट आन्दोलनको बद्नाम गर्नको निम्ति नेकपा (नेकपा) को सरकारलाई कम्युनिस्ट सरकार भनेर प्रचार गर्दैछन् ।

नेकपा (नेकपा) को सरकारले जति देश तथा जनविरोधी काम गर्छ त्यति नै पुराना प्रतिक्रियावादीहरुले कम्युनिस्ट आन्दोलनको बद्नाम गर्ने अवसर प्राप्त गर्दछन । त्यसैगरी कम्युनिस्ट आन्दोलनमा लागेका तल्ला निकायका कैयौ ईमान्दार नेता,कार्यकर्ताहरुले आफ्नो पिछडिएको चेतना स्तर र कमजोर सैद्दान्तिक र बैचारिक धरातलको कारण पनि नेकपा (नेकपा) लाई कम्युनिस्ट र उसको सरकारलाई कम्युनिस्ट कै सरकार हो भनेर बुझेको पाईन्छ । र नेकपा (नेकपा) को सरकारले गरेका रास्ट्रविरोधी र जनविरोधी कामहरुले उनीहरु लज्जित हुने, हिनतावोध गर्ने, बिचलित हुने गरेको देखिन्छ ।

कम्युनिस्ट आन्दोलन र सिद्धान्तको वारेमा अध्यनको अभाव र सिमित जानाकारीको कारण सामान्य जनताको ठुलो हिस्साले पनि नेकपा (नेकपा) लाई कम्युनिस्ट पार्टी र उसको सरकारलाई कम्युनिस्ट सरकार भनिरहेको देखिन्छ । र नेकपा (नेकपा) को सरकारले गरेका गलत कामको कारण सामान्य जनतामा कम्युनिस्ट आन्दोलन प्रति विश्वास टुट्ने सम्भावना बढ्दै गएको बुझिन्छ । त्यसैले व्यवहारको कसीमा नेकपा(नेकपा) कम्युनिस्ट पार्टी हो या होइन ? छरलङ्ग भैसकेको भएतापनि फेरि एकपटक उसलाई जनताको बीच सिद्धान्तको कसीमा राखेर आम नेता,कार्यकर्ता र जनतालाई नेकपा (नेकपा)को बारेमा प्रस्ट पार्नु आजको आवस्यकता हो । सन् १८४८ मा कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणा पत्र जारि गरे । उक्त घोषणा पत्रले दिशावोध गरेको सिद्दान्त,नीति-बिधी र मुल्य-मान्यतालाई अङ्गीकार गर्ने ब्यक्तिहरुनै कम्युनिस्ट हुन् र उनीहरुको पार्टी नै कम्युनिस्ट पार्टी हो ।

कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद हो । सशस्त्र संघर्षको अनिवार्यता, वर्ग संघर्षको निरन्तरता ,जनवादी केन्द्रीयता र सर्वहारावर्गको (जनताको जनवादी) अधिनायकत्व यी चार चिजहरु मालेमावादका मुख्य अंगहरु हुन् । यी चार मध्य एक अपुग भयो भने मालेमावाद अपांग हुन्छ । यी चार मध्य कुनै एक मात्रलाई अस्विकार गर्ने कुनै पनि व्यक्ति,समुह या सङ्गठन मालेमावादी हुन् सक्दैन । आजको युगमा मालेमावादी हुन् नसक्ने जो कोहि पनि कम्युनिस्ट हुन् सक्दैन । नेकपा (नेकपा) अब अगाडी सहजताको निम्ति नेकपा (नेकपा)लाई यस लेखमा डबल नेकपा लेखिनेछ) लाई रिसराग राखेर आग्रह (पूर्वाग्रह पालेर आरोप पत्यारोपको आधारमा कम्युनिस्ट पार्टी हो, होईन भन्नु भन्दापनि मालेमावादको कसीमा राखेर उक्त पार्टी कम्युनिस्ट पार्टी हो या होईन खुत्याउनु पर्दछ । माथि उल्लेख गरेको मालेमावादका चार आधारभूत चिजहरु सशस्त्र संघर्षको अनिवार्यता, वर्ग संघर्षको निरन्तरता ,जनवादी केन्द्रीयता र सर्वहारावर्गको (जनताको जनवादी) अधिनायकत्वप्रति डबल नेकपाको दृष्टिकोण र ब्यबहार के हो ?

यहि प्रश्नको उत्तरले नै वास्तवमा त्यो पार्टी कम्युनिस्ट पार्टी हो या होइन भन्ने कुरा प्रस्ट हुन्छ । वुर्जुवाहरुले राज्यसत्ता स्वतन्त्र हुन्छ भन्छन् । उनीहरुले सर्वहारावर्गमाथि शासन गरेको आफ्नो राज्यसत्तालाई सर्वहारावर्गको पनि राज्यसत्ता हो भनेर भ्रम छर्ने प्रयत्न गर्दछन । वास्तवमा राज्यसत्ता स्वतन्त्र हुन् सक्दैन , यो सधै एउटा वर्गको पक्षमा हुन्छ । जुन वर्गले आफ्नो हक,हितको रक्षाको निम्ति राज्यसताको स्थापना गर्दछ तत्कालिन राज्यसत्ता त्यही वर्गको हुन्छ । वुर्जुवावर्गले आफ्नो हकहितको निम्ति स्थापना गरेको राज्यसत्ता सर्वहारावर्गको हकहितका निम्ति अनुकुल हुदैन । त्यस्तै सर्वहारावर्गले आफ्नो स्वार्थ रक्षाको निम्ति स्थापना गरेको राज्यसत्तामा बुर्जुवावर्गको स्वार्थसिद्ध हुदैन । किनकी सर्वहारावर्गको हकहितको रक्षा बुर्जुवा राज्यसत्ता उल्त्यायर सर्वहारा राज्यसत्ता स्थापना गरेर मात्र सम्भव हुन्छ । त्यस्तै सर्वहारा राज्यसत्ता उल्त्यायर बुर्जुवा राज्यसत्ता स्थापना गरेर सर्वहारावर्ग माथि शोषण ,दमन र उत्पीडन गरेर मात्र बुर्जुवावर्गको स्वार्थ सिद्ध हुनेगर्दछ । लेनिन भन्नुहुन्छ,राज्यसत्ता भनेको एउटा वर्गले अर्को वर्गमाथि शासन गर्ने संयन्त्र हो, समाजमा वर्गहरु रहुन्जेल एउटा वर्गले अर्को वर्गमाथि हावी हुनको निम्ति अर्थात शासन गर्नको निम्ति निरन्तर प्रयास गरिरहेका हुन्छ्न । यो क्रममा वर्गहरु बीच निरन्तर शत्रुतापूर्ण संघर्ष चलिरहेको हुन्छ ।

राज्यसत्तामा रहेको वर्गले आफ्नो सत्ता बचाउनको निम्ति सशस्त्र बलको प्रयोग गरिरहेको हुन्छ । त्यसैगरी सशस्त्र बलको भरमा टिकेको एउटा वर्गको राज्यसत्तालाई उल्त्याएर आफ्नो वर्गको राज्यसत्ता स्थापना गर्नको निम्ति अर्को वर्गले पनि सशस्त्र बलको प्रयोग गर्नु अनिवार्य आवस्यकता बन्दछ । सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने र त्यसको रक्षा गर्ने सवालमा पनि यहि कुरा सत्य हो । जहासम्म डवल नेकपाको कुरा छ उसले शसस्त्र संघर्षको सिद्धान्तलाई परित्याग गरेर शान्तिपूर्ण संक्रमणको बाटो निश्चित गरिसकेकोछ । शान्तिपूर्ण संक्रमणको बाटो भनेको खुरुस्चोभको बाटो हो र यो बाटो सर्वहारा क्रान्तिको बिरोधि बाटो हो । सोभियत कम्युनिस्ट पार्टी भित्र घुसाईएका पश्चिमाहरुका छद्म एजेन्ट थिए खुरुस्चोभ । उनले स्टालिनको निधन पश्चात सोभियत समाजवादलाई चकनाचुर पारे । विश्व कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पु(याए । उनले सर्वहारावर्गका महान नेताहरु स्टालिन र माओत्सेतुङ्को गर्न सम्म बिरोध गरे । स्टालिनलाई जड्या,रिसाह र क्रुर ब्याक्ति भने, माओत्सेतुङ्लाई रक्त पिपासु भने । खुरुस्चोभले सर्वहारावर्गले शसस्त्र संघर्ष गरेर बुर्जुवावर्गको सत्ता उल्ट्याउने होईन चुनाव लडेर सर्वहारावर्ग पनि बुर्जुवा सत्तामा सहभागी भै बुर्जुवा सत्तालाई मलजल गर्नुपर्दछ भन्ने मान्यता अघि सारे ।

डवल नेकपा यहि खुरुस्चोभ पथमा हिडिरहेकोछ । के नेपालको बर्तमान बुर्जुवा राज्यसत्तालाई ध्वंस गरेर सर्वहारा राज्यसत्ता स्थापना गर्नको निम्ति उसले सशस्त्र संघर्षको अनिवार्यतालाई स्वीकार गर्दछ ? तथ्य र प्रमाणका आधारमा भन्न सकिन्छ ,कदापि स्वीकार गर्न सक्दैन । बरू सशस्त्र संघर्ष द्वारा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने संसारभरका सर्वहारावर्गको प्रतिनिधिहरुलाई दुनियाभरका प्रतिक्रियावादीहरुले जस्तै उसले पनि आताताई ,आतंककारी आदि,ईत्यादी उपमा दिदैछ, दिनेछ । वर्ग समन्वयले सर्वहारावर्गलाई पथभ्रस्त गर्दछ । सर्वहारावर्गको रक्षा वर्ग संघर्षमा हुन्छ । वर्गसंघर्षको माध्यम बाट नै सर्वहारावर्गले आफ्नो गुमेको अधिकार फिर्ता गर्न सक्दछ । त्यसकारण सर्वहारावर्गले आफ्नो वर्ग स्वार्थको निम्ति बुर्जुवावर्ग संग निरन्तर संघर्ष गर्नुपर्दछ । यो सर्वहारा दर्शनको मूल मान्यता हो । के डवल नेकपा यो मान्यतामा अडिग छ ? मलाई लाग्छ छैन । डवल नेकपाको नीति वर्ग संघर्षमा होईन वर्ग समन्वयमा केन्द्रित देखिन्छ । दलाल ,तस्कर, कमिशनखोर र घुसखोर जस्ता बुर्जुवाहरु मध्यपनि अति घटिया तप्का संग डवल नेकपाको नेताहरुको रातदिन बसउठ, भेटघाट, छलफल चलिरहन्छ । कतिपय शीर्ष नेतृत्वको बाँस पनि त्यस्तै मान्छेसंग भएको देखिन्छ ।

डवल नेकपाका कैयौ नेता कार्यकर्ताहरुनै त्यसप्रकारका घटिया काममा प्रत्यक्ष या अप्रत्यक्ष ढंगले समावेश भएको देखिन्छ । कम्युनिस्ट पार्टी संचालनको बिधि हो जनवादी केन्द्रीयता । छलफलमा स्वतन्त्रता काम कारवाहीमा एकरुपता नै जनवादी केन्द्रीयताको सार हो । अब प्रश्न उठ्छ डवल नेकपा संचालित भैरहेको विधिलाई के जनवादी केन्द्रीयता भन्न मिल्छ ? मलाई लाग्छ ,कदापि मिल्दैन । डवल नेकपा सचालन भैरहेको सांगठानिक विधिलाई जनवादी केन्द्रीयता होईन नोकरशाही केन्द्रीयता भन्न सकिन्छ । बहस, छलफल, निर्णय र काम कारवाहीको सवालमा नेताहरु मालिक जस्ता र कार्यकर्ताहरु दास जस्ता देखिने सांगठनिक बिधिलाई नोकरशाही केन्द्रीयता भनिन्छ । नोकरशाही केन्द्रीयता भनेको बुर्जुवा संगठन संचालनको बिधि हो । नोकरशाही केन्द्रीयतामा बहुमत कार्यकर्ताले चाहेर सामान्य बैठक सम्म पनि हुदैनन् तर मुख्य नेताले चाहेमा रातारात जे पनि हुन्छन् । साम्यवादको स्थापना नहुदा सम्म समाजमा वर्गहरु रहिरहन्छन् । बर्गहरु रहुन्जेल समाजमा वर्ग संघर्ष चलिरहन्छ । वर्ग संघर्षको माध्यमबाट नै सत्ताच्युत बर्गले पुनः आफ्नो सत्ता स्थापना गर्न प्रयास गरि रहन्छ । त्यस्तै सत्तासिन बर्गले पनि वर्गसंघर्ष कै माध्यम बाट नै आफ्नो बर्गको सत्ता टिकाई राख्ने कोशिश गरिरहन्छ ।

अवश्य यो क्रममा दुवै वर्ग आफ्नो सत्ता टिकाउन या दुश्मन बर्गको सत्ता उल्त्याउन निर्मम हुन्छन । सर्वहारावर्गले आफ्नो सत्ता टिकाउन गरिने प्रयासलाई सर्वहारा अधिनायकत्व भनिन्छ । बुर्जुवाहरुले बुर्जुवा सत्ता टिकाउन गर्ने प्रयासलाई बुर्जुवा अधिनायकत्व भनिन्छ । सर्वहारा अधिनायकत्व देश र जनताको पक्षमा र मुट्ठीभर सामन्त,दलाल र नोकरशाहहरुको बिरुद्धमा हुन्छ । बुर्जुवा अधिनायकत्व देश र जनताको बिपक्षमा र मुट्ठीभर सामन्त,दलाल र नोकरशाहहरुको पक्षमा हुन्छ । दुनियाभरका प्रतिक्रियावादीहरुले बुर्जुवा अधिनायकत्वलाई लोकतन्त्र, प्रजातन्त्र र मानवअधिकार आदि, ईत्यादि भन्छन् तर सर्वहारा अधिनायकत्वको बिरोध गर्दछन १ उनीहरुले त्यसलाई (सर्वहारा अधिनायकत्वलाई) निरङ्कुश र तानाशाही भन्छन् । अब प्रश्न गरौ डवल नेकपाले सर्वहारा अधिनायकत्वलाई के भन्छ ? बुर्जुवा अधिनायकत्व लाई के भन्छ ? अवस्य, डवल नेकपाको नीति,कार्यक्रम र व्यवहारले दुनियाभरका प्रतिक्रियावादीले जस्तै बुर्जुवा अधिनायकत्वलाई लोकतन्त्र र प्रजातन्त्र मानवधिकार भन्छ । र सर्वहारा अधिनायकत्वलाई निरङ्कुश,तानाशाही र मानव अधिकारको हनन भन्छ । तर संसारभरका क्रान्तिकारी कम्युनिस्टहरु सर्वहारा अधिनायकत्वलाई आफ्नो बर्गको सत्ता रक्षाको निम्ति आवस्यक ठान्छन र त्यसको सम्मान गर्दछन् ।

माथि उल्लेख गरिएका सैद्धान्तिक तथ्यहरुको आधारमा डवल नेकपाले मालेमावादी सिद्धान्तलाई पूर्णतयाः परित्याग गरेर बुर्जुवा सिद्धान्त अबलम्बन गरिसकेकोछ । तसर्थः मालेमावादी सिद्धान्तको कसीमा राखेर हेर्दा डवल नेकपा कम्युनिस्ट पार्टी होईन एउटा (वुर्जुवा) प्रतिक्रियावादी पार्टी हो भन्ने प्रमाणित हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार