
सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएपछि महिला कर्मचारी आहत बनेकी छन् । उनले तस्वीर कसले र कहाँ खिचेको हो भन्ने थाहा नभएको बताइन् ।
‘म कार्यालयबाट विदा लिएर काठमाडौंमा थिएँ । मेरा सहकर्मी पनि काठमाडौं आउनुभएको थियो । हामी सिटरोल लिनका लागि निजामति किताबखानामा सँगै गएका थियौं,’ उनले भनिन् ।
घरबाट घुम्न जाने हिसाबले निस्केको भएर पोशाकमा ध्यान नपुगेको उनले बताइन् । सामाजिक सञ्जालमा तस्वीर देख्दा अचम्मित र दुखित बनेको उनको भनाइ छ । ‘तस्वीरमाथि यति धेरै विवाद गरिनु आवश्यक थिएन होला । यसले मलाई निकै मानसिक तनाव भएको छ । मेरो परिवारलाई पनि अप्ठेरो भएको छ । सोच्दै नसोचेको कुरा भयो,’ उनले भनिन् ।
आइतबार काममा फर्कने गरी काठमाडौं आएकी उनी यही तनावले गर्दा अहिले पनि काठमाडौंमै छिन् ।
गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले उनीहरु दुवै बैरनीबाट काठमाडौं सँगै आएको बताए । ‘मैले बुझ्दा उनीहरु बैरेनीबाट एकसाथ काठमाडौं आएका हुन् । लकडाउनमा पनि दिनरात खटिएर उनीहरुले ३० गते आफ्नो काम सबै सिध्याएका थिए । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतसँग विदा मागेर आइतबार फर्किने गरी विदामा आएका हुन्,’ अध्यक्ष श्रेष्ठले भने ।
महिला कर्मचारीको पोशाक चाहिँ आफूलाई पनि चित्त नबुझेको उनले बताए । ‘मलाई साथीहरुले फोटो देखाए । पोशाकचाहिँ अलि नमिलेकै हो । पछाडि ढाड तलसम्म देखिएको छ’ अध्यक्ष श्रेष्ठले भने, सरकारी कर्मचारीले सरकारी सवारी साधनमा यात्रा गर्दा यस्तो पोशाक लगाउन हुँदैनथ्यो ।’
यस विषयमा आफूले प्रमुख प्रशासकीय अधिकृतसँग सोधपुछ गरेको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘मैले दुवै इन्जिनियरसँग लिखित स्पष्टीकरण पनि माग्ने विचार गरेको छु ।’
महिला कर्मचारीले लगाएको पोशाकका सम्बन्धमा सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरु आएको सन्दर्भमा हामीले वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई सोध्यौं, ‘सरकारी मोटरसाइकलमा चढेकी महिलाको पोशाकबारे सामाजिक सञ्जालमा आलोचना भइरहेको छ, यसलाई तपाई कसरी लिनुहुन्छ ?’
जवाफमा शर्माले भनिन्, ‘कर्मचारी वा सार्वजनिक जिम्मेवारीमा रहेका मानिसहरुको पोशाक मर्यादित हुनुपर्छ । पब्लिक व्यक्ति भइसकेपछि ड्रेसअपमा चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।’







