
सत्ताधारी नेकपाभित्रको अन्तरविरोध उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवासमा पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरे ।
पार्टी विवादमा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायत सचिवालयका धेरै नेताको एउटै मत देखिएका बेला दाहालले पूर्व माओवादी समूहका मात्रै नेताहरुसँग गरेको परामर्शलाई सत्ताधारी नेकपाभित्र विभिन्न कोणबाट हेरिएको छ ।
पूर्व माओवादी समूहका केही नेताहरु भेलामार्फत दाहालले मूलतस् तीन सन्देश दिएको बताउँछन् । भेलामार्फत् दाहालले निकासका लागि आधार तयार, पूर्व माओवादी एकै ठाँउ र जबज अस्वीकार्य भन्ने गरी तीन मुख्य सन्देश दिएको दाहाल निकट नेताहरुको बुझाइ छ ।
सन्देश १–निकासका लागि आधार तयार
झन्डै एक महिना अगाडि सुरु भएको स्थायी कमिटी बैठक अनिर्णयको बन्दी छ । यसलाई अझै लम्ब्याउँदा पार्टी थप जटिलतामा फँस्ने र आमजनमानसमा नेताहरुबीच पद र वर्चश्वका लागि शक्ति संघर्ष भएको सन्देश प्रवाह हुने डर दाहालमा देखिएको उनीनिकट नेताहरु बताउँछन् । त्यसैले दाहालले भेलामार्फत् वरिष्ठ नेता नेपाल समूहलाई समेत आधारभूत रुपमा विश्वासमा लिएर अर्का अध्यक्ष केपी ओलीसँग सम्झौता गरेर अहिलेको विवाद टुंगाउने सन्देश दिएका छन् ।
भेलामा सहभागी एक नेताका अनुसार दाहाललाई उनीनिकटका नेताले सुझाव पनि त्यस्तै दिएका छन् । वरिष्ठ नेता नेपाललाई विश्वासमा लिने र पार्टी विभाजन नहुने गरी ओलीसँग सम्झौता गर्न दाहाललाई सुझाव दिइएको छ । यस्तोमा दाहालले आफू एक कदम पछाडि हटेर भए पनि नेकपाको विवाद टुंग्याउने मनस्थितिमा पुगेको भेलामार्फत् सन्देश दिएको ती नेता बताउँछन् । उनी भन्छन्, ‘दाहालले कुनै आकस्मिक निर्णय लिए भने आश्चर्य नमाने हुन्छ ।’
सन्देश २–पूर्व माओवादी एकै ठाँउ
आइतबार वरिष्ठ नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुसमेत राखेर छलफल गरेका दाहालले सोमबार पूर्व माओवादी समूहका नेतासँग मात्र छलफल गरे । भेलामा सहभागी स्थायी कमिटीका अर्का एक नेता भन्छन्, ‘भेलामार्फत् दाहालले पूर्व माओवादी एक छौँ भन्ने सन्देश पनि प्रवाह गरेका छन् ।’
उनका अनुसार यस्तो सन्देश ओली र नेपाल दुवै समूहका लागि हो । स्थायी कमिटीमा मूलतस् ओली, दाहाल र नेपाल पक्षीय शक्ति छ । यसमा दाहालको समूह सबैभन्दा बलियो मानिन्छ । दाहालले ओलीसँग सम्झौता गर्ने र त्यसमा उनी निकट स्थायी कमिटीका सबै सदस्यको समर्थन रहे अगाडि बढ्न सहज हुने दाहालको बुझाइ छ ।
सन्देश ३–जबज अस्विकार्य
खुमलटारमा पूर्व माओवादी समूहका नेताहरु भेला गरेर दाहालले एकताको मर्म विपरीत अहिले नै जनताको बहुदलीय जनवादलाई स्वीकार गर्न नसक्ने अर्को सन्देश दिएका छन् । ओलीले जनताको बहुदलीय जनवादलाई आत्मसाथ गरे मंसीरमा महाधिवेशन गरेर पार्टीमा एकल नेतृत्व लिन प्रस्ताव गरेका थिए ।
दाहालले बोलाएको भेलामा सबैजसो नेताले पार्टी एकता, विधान र राजनीतिक प्रतिवेदनको मर्मविपरीत अहिल्यै जनताको बहुदलीय जनवाद स्वीकार्य नहुने बताएका छन् । अर्थात् भेलामार्फत् दाहालले तत्कालका लागि जनताको बहुदलीय जनवाद अस्वीकार्य रहेको सन्देश प्रवाह गरेको भेलामा सहभागी ती नेताले बताए ।
हाल नेकपाले पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद र न्यूनतम कार्यक्रम समाजवाद उन्मूख जनताको जनवाद मानेको छ । पार्टी विधानमामा जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनसम्म विधिसम्मत छलफल गरी निष्कर्षमा पुग्ने उल्लेख छ ।
जनताको बहुदलीय जनवाद अवलम्बन गर्दै आएको नेकपा ९एमाले० र माओवाद एवम् २१ औँ शताब्दीको जनवाद अवलम्बन गर्दै आएको नेकपा ९माओवादी केन्द्र० बीच एकता भएको थियो । महाधिवेशनबाट टुंगाउनुपर्ने विषय ओलीले शक्ति बाँडफाँडका क्रममा अहिले नै अगाडि सारेपछि दाहालले असम्भव रहेको सन्देश दिएका छन् ।
नेकपाले पार्टीको रणनैतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तात्कालीन ठोस कार्यक्रम समाजवाद उन्मूख ‘जनताको जनवाद’ हो भन्ने कुरा स्पष्ट पार्ने निर्णयसमेत गरेको छ ।
भेलामा दाहालसहित १४ स्थायी कमिटी सदस्य उपस्थित थिए । सचिवालय सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्य जनार्दन शर्मा र लेखराज भट्ट सहभागी थिएनन् । थापा र शर्मा अध्यक्ष दाहाललाई जानकारी गराएर नै उपस्थित नभएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
कान्तिपुरका लागि बबिता शर्माले तयार पारेको रिपोर्ट ।







