
पूर्व जनमोर्चा सांसद एवं रोल्पाका पूराना कम्युनिस्ट नेता बर्मन बुढामगरको निधन भएको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको हो । उनी ९० वर्षका थिए ।विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।
बर्मन बुढा २०४८ सालमा रोल्पा क्षेत्र १ बाट तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए । साथैं रोल्पा क्षेत्र २ बाटैं कृष्णबहादुर महरा विजय भएका थिए । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए ।
तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा बर्मन बुढा प्रत्यक्ष रुपले सहभागी नभएपनि अप्रत्यक्ष रुपले सहयोग गरिरहेका थिए ।
पछिल्लो शान्तिप्रक्रियामा आएपछि माओवादी पार्टीको नेतृत्वमा आएको विचलन र विभाजनप्रति उनी असन्तुष्ट थिए ।
गाउँमा मुखियाहरुको अन्याय अत्याचारको विरोध गर्दा उनी जेल परेका थिए । प्युठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उनलाई कम्युनिष्ट बनाएको थियो । त्यसपछि २०१२ सालमा थवाङ फर्किएर उनले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ ।
रोल्पा थबानमा जन्मेका बुढा नेपाली कम्युनिष्ट आन्दोलनमा सरल जीवनशैली अपनाउने आदर्श व्यक्तित्वको रुपमा चिनिन्छन् ।







