
सत्ताधारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोली फेरेको भन्दै उनी निकट नेताहरुले असन्तुष्टि जनाएका छन्।
मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा बोली फेरेपछि उनका विश्वास पात्र समेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्मासहितका नेताहरु रिसाएका हुन्। सत्ताधारी
नेकपाभित्र जारी विवादमा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अघि बढ्ने कि वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्य गर्ने भन्ने दुविधामा अल्झेका दाहाल एउटै कुरामा अडिन नसकेको भन्दै शर्माले असन्तुष्टि जनाएका हुन्।
पार्टीभित्रको हरेक निर्णायक क्षणमा दाहाललाई साथ दिएका शर्माले पछिल्लो समय मंसिरमा महाधिवेशन गर्न भनेर ओलीसँग आफू साक्षी बसेर गरेको ‘सहमति’बारे दोधारे कुरा गरेपछि रिसाएका हुन्।
आफ्नै निर्णयमा टिक्न नसकेको भन्दै शर्मा सोमबार बिहान खुमलटारमा भएको पूर्व माओवादी पक्षीय स्थायी समिति सदस्यहरुको भेलामा समेत उपस्थित भएनन्।
भेलाको अघिल्लो दिन आइतबार राति प्रचण्ड भेट्न खुमलटार पुगेका शर्माले बेलुका गरेको सहमति बिहान नहुँदै उल्टाउन खोजेको भन्दै असन्तुष्टि जनाएर फर्किका थिए।
शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं समस्या समाधानका लागि भूमीका खेल भन्नुहुन्छ। अनि एउटा परिस्थिति बनायो त्यसमा टिक्नु हुन्न।’ भेटमा शर्माले आफू सोमबार बिहानको भेलामा समेत आउँदिन भन्दै फर्किएका थिए।
उक्त भेलामा सहभागी अधिकांश नेताहरुले ओलीसँगै मिलेर जानुपर्ने धारणा राखेका थिए।
एक महिनादेखि उत्कर्षमा पुगेको नेकपा विवाद सुल्झाउन ओली र दाहालले विभिन्न विकल्पमाथि छलफल गर्दै आएका छन्। त्यसै क्रममा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरे।
सचिवालय बैठक अघि दुई अध्यक्षबीच भएको छलफलकै आधारमा ओलीले ‘अर्ली महाधिवेशन’ प्रस्ताव गरेकाले दाहालले उक्त प्रस्तावमा समर्थन जनाए।
ओलीको प्रस्तावमा दाहालले सहमति जनाएपछि वरिष्ठ नेता माधवकुमार नेपालले ‘दुई नेताको चोचोमोचो मिल्दैमा समस्यामा समाधान हुने’ भन्दै आपत्ति जनाकाएका थिए।







