
सत्तारूढ नेकपाभित्रको शक्ति संघर्ष सतहमा आइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बिहिवार पुन भेटवार्ता भयो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मंगलवारदेखि भेटघाट नगरेका प्रधानमन्त्री ओलीले बिपक्षी दलका नेतासँगको भेटघाटलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
सत्तारुढ दल नेकपा भित्र बिगत केही महिनादेखि अविश्वासको संकट पैदा भईरहेको छ । कहिले प्रधानमन्त्री केपी ओलीको विवादीत अभिब्यक्ति, कहिले अध्यादेश लगायतका विषयले नेकपाभित्रै रडाको मच्चीरहेको छ । यही बिचमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मंसिरमा महाधिबेशन गरेर पार्टीको एकल अध्यक्ष दिने पासा फाले । साथै आगामी महाधिबेशनमा जनताको बहुदलिय जनवादलाई लिएर अघि बढ्ने धारणा आएसँगै ओली तथा दाहालको गुट नै संकटमा परीरहेको छ ।
तथापी आफ्ना अध्यक्षसँग चारदिनदेखि भेटघाट र छलफल नगरीरहेका ओलीले बिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासँग बिहिवार भेटघाट गरेपछि दाहाल थप सशंकित बनेका छन् । भेटमा देउवाले कोरोना भाइरस नियन्त्रणका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको भनिएको छ । तर ओली र देउवाबीच सत्ता समिकरणसम्मका विषयमा छलफल भएको हुन सक्ने आशंका गरिएको छ । देउवा र ओलीबीच गत असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो ।
त्यस दिनको भेटघाट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको विषयलाई लिएर मात्रै सिमित भएको बताईएको थियो । तर विभिन्न बहानामा निरन्तर ओली र देउवाबीच भेट हुनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।







