
सत्ताधारी नेकपाको विवाद अब बहुमत तर्फ उन्मुख भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कमिटीसँगै संसदीय दलमा समेत अल्पमतमा छन्।
ओली अल्पमतमा रहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल सहित अन्य प्रमुख नेताहरु समेत प्रधानमन्त्री ओलीविरुद्ध एकै ठाउँमा उभिएका छन्। संसदीय दलमा बहुमत पुराउन ओलीलाई थप ११ सांसदको समर्थन आवश्यक देखिएको छ।
ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्नैपर्ने अडान असन्तुष्ट पक्षको छ। विवादका कारण ‘डेडलक’ बढ्दै गएको र ओली सहमतिमा नआएको भन्दै प्रचण्डपक्षीय नेताहरुले अब विवादलाई बहुमतीय प्रक्रियाबाट टुंग्याउनेतर्फ जाने बताएका छन्।
प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने विषय संसदीय दलमा पुग्ने सम्भावना बढेपछि दुवै पक्षले त्यसको तयारी गरेका छन्। स्थायी समितिका एक नेताका अनुसार एक महिना अघिदेखि नै दुवै पक्षले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको भएपनि आइतबार मात्र त्यो पूरा गरेका छन्।
नेकपाको संसदीय दलका १ सय ७४ सांसदमध्ये ओली पक्ष र प्रचण्ड–नेपाल पक्षमा कति कति जनाले हस्ताक्षर गरे भन्ने खुलेको छैन। उच्च स्रोतहरूका अनुसार कम्तिमा आठ जना सांसदहरूले दुवैतर्फको सूचीमा हस्ताक्षर गरेका छन्।
स्वतन्त्र रुपमा चुनाव जितेका छक्कबहादुर लामासहित नेकपाको संसदीय दल १ सय ७४ सदस्यीय छ। अग्निप्रसाद सापकोटा सभामुख भएका कारण मत विभाजन गर्नुपरे १ सय ७३ जनाको मत गणना हुन्छ। बहुमतका लागि ८७ मत आवश्यक पर्छ।
संसदीय दलमा ओलीलाई समर्थन गर्नेहरुको संख्या करिब ४३.६७ प्रतिशत देखिन्छ। प्रचण्ड र नेपाल पक्ष एकातर्फ हुँदा पनि उनीहरुको पक्षमा ५४.५९ प्रतिशत मात्रै सांसद छन्।
पछिल्लो स्थितिमा संसदीय दलका नेता ओलीको पक्षमा ७६ जना सांसद देखिन्छन्। जसमा प्रचण्डलाई पूर्वमाओवादीतर्फको ५२ सांसदको समर्थन छ। त्यसैगरी नेपालतर्फ खनालसहित ४३ जना सांसद छन्। अर्थात् यी तीन नेताहरुसँग ९५ सांसद छन्।







