
सत्ताधारी नेकपामा उपाध्यक्ष वामदेव गौतम निवासमा अध्यक्ष केपी ओली गएपछि उनीनिकट केही केन्द्रीय सदस्यहरु गौतमलाई भेट्न उनकैं निवास पुगे र उनीहरुबीच सवाल–जवाफ चल्यो ।
स्रोतका अनुसार नेकपा केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, दीपकप्रकाश भट्ट, सुरेन्द्र मानन्धर, रामकुमारी झाँक्री, ठाकुर गैरे गौतम निवास भैंसेपाटी पुगेका थिए ।गौतमले प्रधानमन्त्री ओलीलाई लामो समयदेखि काँध थाप्दै आएको भए पनि बदलामा अपमानबाहेक केही पनि नपाएको बताएका थिए ।
“अहिले पनि कुनै पदको लोभले ओलीलाई प्रधानमन्त्रीबाट नहटाउँ भनेर सहमतिको प्रस्ताव अघि सारेको होइन । ओलीलाई संसदीय दलको नेता बनाउनेबेला र त्योभन्दा अघिदेखि काँध थाप्दै आएको छु,” गौतमको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “अहिले पनि ६ बुँदा पार्टी एकता बचाउन, कम्युनिस्ट आन्दोलन बचाउन अघि सारेको हुँ ।”
उनले ओलीबाट सरकार र पार्टी दुवै चल्दैन भनेर आफूले एकवर्षअघि नै निष्कर्ष सुनाएको दोहोर्याएका थिए । त्यतिबेला कसैबाट साथ नपाएको र अहिले पनि त्यही विचारमा निर्भिक रहेको उनको निष्कर्ष थियो । तथापि, त्यतिबेला हटाउने उपयुक्त समय भए पनि अहिलेको समय अनुकूल नरहेको उनले बताएको केन्द्रीय सदस्यको भनाइ छ ।
“म ओलीको पक्षमा लागेको भनेर नबुझ्नुस्,” गौतमले केन्द्रीय सदस्यलाई सम्झाउँदै भने, “पार्टी बचाउने दायित्व आएको छ । अहिले केपी ओलीलाई दुवै पदबाट हटाउने समय छैन । कोरोनाको महामारी छ । सरकारले बाह्य आक्रमण पनि बेहोर्न परिरहेकै छ । यस्तो बेलामा हटाउँदा झन् दुघर्टना होला भनेर मात्रै नहटाउँ भनेको हुँ । म ओलीको पक्षमा लागेको पनि छैन, यसरी बुझ्नु उपयुक्त हुँदैन ।”







