
सत्ताधारी नेकपामा सचिवालयसहित बहुमत स्थायी कमिटी सदस्यले केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामाको माग गरेका मात्रै छैनन्, उनीविरूद्ध प्रस्ताव पारित पनि गरिसकेका छन् ।
ओली सामु सत्ता मात्र होइन नैतिक संकट पनि देखा परेको छ । र, यो सङ्कटमा साथ दिने तिनै गौतम भएका छन् । गौतमले पटकपटक गठबन्धनको साथ छाडेकाले ओलीको ‘खड्गो’ टर्दै र सर्दै आइरहेको छ ।
अहिले पनि ओली र गौतमबीच खास लेनदेन त भएको छैन । तर, नेपाल प्रचण्डको कित्तामा गइसकेकाले जबजको उत्तराधिकारी र पार्टीको भावी नेतृत्व सम्हाल्न ओलीले गौतमलाई प्रस्ताव गरेका छन् । र, अध्यक्ष छाड्नै परे नेता गौतमलाई छाड्ने आश्वासन पनि दिइसकेका छन् ।
गौतमसँग जनताको बहुदलीय जनवाद, पूर्वएमालेको लिगेसीसमेत रहेकाले इतरसमूहलाई बलियो टक्कर दिने पात्रका रूपमा ओलीले सोचेका छन् । पूर्वएमालेलाई नै नेतृत्व हस्तान्तरण गर्दा पराजित नभएको सन्देश जानेमा ओली ढुक्क पनि देखिन्छन् ।
ओली–गौतमको सम्बन्ध षड्यन्त्र र धोकाधडीकै शृङ्खला भएकाले अहिलेको प्रस्ताव पनि ‘ढाँटको निम्तो खाइ पत्याउनू’ भएको गौतम पक्षका नेता बताउँछन् ।
तै पनि यसपटक गौतम काँध छाड्ने पक्षमा छैनन् । बुधबार सम्झाउन पुगेका दीपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, ठाकुर गैरे, सुरेन्द्र मानन्धर र जीवनराम श्रेष्ठलाई यही भने, “ओलीबाट लात सहे पनि सहुँला, बात सहे पनि सहुँला तर ६ बुँदे प्रस्तावबाट पछि हट्दिनँ ।”
यही ६ बुँदे प्रस्ताव ओली र गौतम सम्बन्धको पछिल्लो आयाम बनेको छ ।







