मोहन विक्रम सिंहको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)मा ठूलो अन्तरविरोध पैदा भएको खुलासा भएको छ ।

महामन्त्री मोहनविक्रम सिंहले आफ्नो राजनीतिक जीवनमा यसअघि कहिल्यै नदेखेको ध्वंसात्मक प्रवृति अहिले पार्टीमा देखा परेको बताएका छन् ।

पार्टीमा विभिन्न विषयमा मतभेद हुने र फुटको अवस्था बारम्बार आउने गरे पनि पार्टीलाई नै ध्वस्त पार्ने खालको प्रवृति आठौं महाधिवेशनको केही समय अघिदेखि देखा परेको सिंहले बताउनुभयो ।

आफ्नो पार्टीको मुखपत्र युगदर्शनलाई दिएका एक अन्तर्वातामा महामन्त्री सिंहले भनेका छन्, ‘पार्टीमा बेला बेलामा मतभेदहरु देखा पर्ने, अन्तरसंघर्ष हुने वा फुटको अवस्था पैदा हुने गरेका छन् । तर, हाम्रो पार्टीको आठौं महाधिवेशनको केही समय अघिदेखि पार्टीमा यसअघि कहिल्यै देखा नपरेको ध्वंसात्मक प्रवृति देखा परेको छ ।’

सिंहले पार्टीमा देखा परेको त्यसखाले ध्वंसात्मक तत्व कम्युनिष्ट हुनै नसक्ने बरु दुस्मनका एजेन्ट वा सीआईडी हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

‘उनीहरु पार्टीले दक्षिणपन्थी बाटो अपनाएको दाबी गर्छन् । आफूलाई क्रान्तिकारी भन्छन् । तर उनीहरु कम्युनिष्ट हुनै सक्दैनन् । बरु दुस्मनका एजेन्ट वा घुपैठिया हुन् । उनीहरुले हाम्रो पार्टी भित्र पनि आफ्ना एजेन्टहरु राखेको देखिन्छ’ सिंहले प्रश्न गर्नुभयो, ‘होइन भने पार्टीका गोप्य कुराहरु कसरी सार्वजनिक हुन्छन् ?’

सिंहले अगाडि भन्नुभयो, ‘हाम्रो पार्टीमा विगतमा लामाजी (निर्मल लामा) सँग मतभेद भयो, उहाँ बाहिरिनुभयो, वैद्यजी, प्रचण्डजीहरु दिनानाथजी वा पछिल्लो समयमा डिलाराम, गिरिधारीजीहरुसँग मतभेद भयो । उहाँहरु पनि जानुभयो । आ–आफ्नो तरिकाले संगठन बनाउनुभयो र संघर्ष गर्नुभयो । कसैले पनि पार्टीको आन्तरिक कुरालाई छताछुल्ल पारेनन् । तर अहिले पार्टीको आन्तरिक सांगठनिक अवस्था, को कहाँ छ भन्ने सबै गोप्य कुरा, पार्टीका सर्कुलरहरु बाहिर लग्ने गरिएको छ । यहाँसम्म की पार्टी नेताहरुविरुद्ध छद्म नामबाट एक पछि अर्को गर्दै चरित्रहत्याको सृंखला चलाइरहेका छन् ।’

सिंहले पार्टीको सामान्य क, ख, ग, जान्ने वा पार्टीबाट अनिश्चित कालका लागि निष्कासनमा परेका व्यक्तिहरुले समेत त्यसो गर्न नसक्ने बताएका छन् ।

‘अन्य बुर्जुवा पार्टीमा समेत यस्तो अवस्था हुँदैन । तर, हामीकहाँ ति छद्म नामधारीहरुले ध्वंसात्मक प्रवृति मच्चाइरहेका छन् । यद्यपी त्यो अस्थायी हो । उनीहरु सफल हुन सक्दैनन्’ सिंहको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार