अहिले अर्ली महाधिवेशन, अर्को महाधिवेशन भनेर जुन बहस चलिरहेको छ, यसको पनि मैले कुनै औचित्य देखेको छैन ।

६ महिनाअगाडिको केन्द्रीय कमिटीको बैठकले निर्णय नै गरिसकेको छ– नेकपाको एकता महाधिवेशन चैत २५ देखि ३० गतेसम्म हुनेछ । म नेताहरूलाई ध्यानाकर्षण गराउन चाहन्छु, तोकिएको मितिमा नेकपामा महाधिवेशन किन भएन भनेर प्रश्न गर्ने परिस्थिति नआओस् ।

यसो म किन भनिरहेको छु भने, आजको परिस्थितिले चैतमा पनि महाधिवेशन हुने छाँटकाट छैन । अर्ली महाधिवेशनको त के बहस गर्नु ? यसको कुनै अर्थ छैन ।

पार्टी एकता गरेको २६ महिना भयो, कुन जिल्लामा कति संगठित सदस्य छन् टुङ्गो लागेको छैन । पार्टी सदस्य कोको हुन् भन्ने निर्क्यौल हुन सकेको छैन । संगठनमा एकीकरणका काम नै टुङ्गिएका छैनन् । हामीले महाधिवेशनअघि गर्नुपर्ने नगर, गाउँ, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन कहिले गर्ने निश्चित भएको छैन । यद्यपि, हामीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गरेर आएका थियौं ।

त्यतिबेला हामीले १५ दिनभित्र पार्टी एकता निष्कर्षमा पुर्‍याउने, जागरण अभियान सञ्चालन गर्ने, त्यसपछि मातहतका कमिटीहरूको अधिवेशन गर्ने निर्णय गरेका थियौं । ती निर्णयहरू आज कागजमा भेटिन्छन् । तर, समय घर्किइसक्यो ।

म चाहन्छु पार्टीभित्र थप बहसलाई निम्ता नदिएर, आरोपप्रत्यारोपमा नअल्झिएर आजको जे समस्या हो, त्यसलाई समाधान गर्नतिर लाग्नुपर्छ ।

विधानअनुसार केन्द्रीय कमिटी बैठक बोलाउने बेला भएको छ ।  अहिलेको समस्या हल गरेर केन्द्रीय कमिटी बैठक बोलाउने र अघिल्लो बैठककले गरेको निर्णय कार्यान्वयन गर्दै कार्यविभाजन गरेर महाधिवेशनको तयारीमा लाग्दा भइहाल्यो नि ।

अहिले पार्टीभित्र रहेका सिनियर (उच्च तह)को नेतृत्व पंक्ति, उसले पञ्चायतकाविरूद्ध लड्यो, सफलता प्राप्त गर्‍यो । राजाको निरङ्कुशताविरूद्ध आन्दोलन गर्‍यो, सफलता प्राप्त गर्‍यो । संविधानसभाबाट संविधान बनाउने कुराको सफलता प्राप्त गर्‍यो । संविधानअनुसार तीनै तहको निर्वाचन सम्पन्न गर्‍यो र सरकारको नेतृत्व पनि गर्‍यो ।

कम्युनिस्ट पार्टी विभाजनका लागि नै बनेका हुन् भन्ने भाष्य निर्माण भएको थियो । त्यस मान्यताकाविरूद्ध लड्यो एकताबद्ध कम्युनिस्ट पार्टी निर्माण गरेर सफलता प्राप्त गर्‍यो । यत्रो शृंखलाबद्ध सफलता प्राप्त गर्दै आएको नेतृत्वले यो पार्टीलाई विभाजनबाट रोक्न सकेन भने उसमाथि लाग्ने दाग सानोतिनो हुनेछैन । यसर्थ मेरो त्यागको परिभाषा के हो भने, अहिलेको नेतृत्वले एकताबद्ध, सग्लो र बलियो पार्टी अर्को पुस्तालाई सकुशल हस्तान्तरण गर्नुपर्छ भन्ने हो ।

उहाँहरूले नयाँ पुस्तालाई सल्लाह, सुझाव दिने र आन्दोलनलाई अझ बलियो बनाएर, अझ एकताबद्ध बनाएर लैजाने कुरामा भूमिका खेल्नुपर्छ । म दोहोर्‍याएर भन्न चाहन्छु, अहिलेको नेतृत्वले त्याग गर्ने बेला भएको छ ।

बाह्रखरी अनलाइनसँग गरेको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार