जनयुद्धकालमा प्रचण्डका विश्वासपात्रहरुले अहिले उनको साथ छोड्ने क्रम दिनप्रतिदिन बढिरहेको छ ।

यही सातामात्रै विश्वासपात्र मानिएका स्थायी समिति सदस्य हरिबोल गजुरेलले छोडेपछि सचिवालय र स्थायी समितिमा रहेका प्रचण्डको साथ छोड्ने पूर्वमाओवादीका नेताहरुको संख्या ५ पुगेको छ ।

यसअघि सचिवालय सदस्य रामबहादुर थापा, स्थायी समिति सदस्यहरु लेखराज भट्ट, जनार्दन शर्मा, टोबहादुर रायमाझीले साथ छोडिसकेका छन् । थापा अहिलेको सरकारमा गृहमन्त्री छन् । भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् । रायमाझी र शर्मा भने सरकारमा छैनन् ।

पूर्वमाओवादीमा हुँदा गजुरेलले जति साथ प्रचण्डलाई कमै नेताले दिएका थिए । अहिलेका सभामुख अग्नि सापकोटा र स्थायी समिति सदस्य गजुरेलको साथ प्रचण्डलाई अविच्छिन थियो । नेकपाभित्र सल्किएको शक्ति संघर्षमा गजुरेल खुलेरै प्रचण्डको विपक्षमा उभिएका हुन ।

यतीसम्म कि साउन ५ गतेको खुमलटारस्थित प्रचण्ड निवासमा पूर्वमाओवादीतर्फका स्थायी समिति सदस्यको भेलामा गजुरेललाई बोलाइएको थिएन ।

गजुरेलले आफ्नो ६ बुँदे पत्र प्रचण्ड निवाससम्म पु¥याएका छन् । अहिलेको परिस्थितिमा विधिमा सुधार गर्नुपर्ने तर्क गरेर ६ बुँदे पत्र खुमलटार पुर्‍याएको निकटस्थ स्रोतले बतायो ।

अहिले पार्टीमा देखिएको समस्याको समाधान व्यक्ति परिवर्तन नभएको भन्दै गजुरेलले अहिले प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने कुरा सान्दर्भिक नभएको पत्रमा उल्लेख गरेका छन् । पार्टीभित्र विधिमा समस्या भएको उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार