पार्टीको बैठक समयमा नबस्ने । तपाईहरु देख्दै हुनुहुन्छ, अहिले हाम्रा अध्यक्ष र वरिष्ठ नेता सधैं धाइरहनुभएको छ बालुवाटारमा फकाउनका लागि । एकजना कमरेडले -म्यासेज) पठाउनुभएको थियो, ‘बैठकबाट डराउने नेता, पानीबाट डराउने किसान … को केही काम छैन ।’

पार्टीको बैठकमा त हामी जस्तोसुकै विषयमा छलफल गर्दै आएका छौं । रातोपिरो भएको छ, ताततातो भएको छ र, हल पनि भएको छ । सहमतिबाट भए सहमतिबाट, नभए बहुमतबाट हल हुन्छ । हामी कहिले बहुमतमा रहेका छौं, कहिले अल्पमतमा रहेका छौं । आफ्नै कमिटीका मान्छेले मान्दैनन् भने जबरजस्ती गर्न पाइँदैन । त्यसो हुनाले केही असमझदारी, अविश्वास छ भने बसौं, छलफल गरौं र सहज ढंगले पार्टीलाई अगाडि बढाउने काम गरौं ।

बैठक बसे पनि गम्भीर छलफल नहुनु, बीचबाटै छाडेर जानु र निरन्तर गुटगत क्रियाकलाप जारी राख्नु अर्को समस्या हो । पार्टी विधिसम्मतरुपमा नचलाउनु र पार्टी कागजमा सीमित हुनु, जनवर्गीय संगठनको एकता टुंगो लगाउन नसक्नु, आफूखुसी आफ्ना गुटका अयोग्य मान्छे वा गोजीबाट फुत्त निकाल्दै नियुक्ति दिनु, भ्रष्ट र आसेपासेहरुको संरक्षण भएको, पार्टीमा असहिष्णु व्यवहार भएको, सरकार सञ्चालनबारे पार्टीमा सल्लाह नहुनु जस्ता समस्या पनि देखिएका छन् ।

सरकारका कामबारे जनतामा गम्भीर प्रश्न खडा भएको छ । कुनै पनि सुझाव र आलोचनाप्रति असहिष्णु भएको, पार्टीमा चरम व्यक्तिवाद र कूटनीतिक मामिलामा समेत अयोग्यता प्रदर्शन गर्दै देशलाई गम्भीर नोक्सान पुर्‍याउने काम भएको छ । विषय यो हो ।

तर, पदको लडाई हो, त्यसका लागि माधव नेपाल बालुवाटार गएर प्रभु मलाई प्रधानमन्त्री वा अध्यक्ष बनाउनुपर्‍यो भनेर भन्यो भनेर प्रचार गरिएको छ । मैले प्रष्ट भनेको छु, हामीले प्रष्ट पारेका छौं, यो पदको लडाइँ होइन । पार्टीलाई क्रान्तिकारी बनाउन, विधिसम्मत रुपमा सञ्चालन गर्न राम्रो संस्कार हुर्काउन, जनतामा आशा जगाउन र जनतामा स्थापित गराउन हो ।

हामी पदका लागि लडेका पनि छैनौं । हामीले कुनै आग्रह-पूर्वाग्रह पनि पालेका छैनौं, बदलाको भावना पनि छैन । राम्रो होस् भनिरहेका छौं । बैठकमा जानुपर्‍यो, छलफल गर्नुपर्‍यो । सहमति भए सहमति, नभए बहुमतको निर्णय मान्नुपर्‍यो । तर, आफूलाई अनुशासन नलाग्ने, अरुबारे चाहिँ कुरा गरेर केही अर्थ छैन ।

(नेकपाका बरिष्ठ नेता नेपालद्वारा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश । )

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार