‘जनयुद्धका बेलामा एक दुईवटा मोर्चाहरु हारे पनि प्रायः लडाईँको ठूलो मोर्चा जितियो भने अब युद्धि जितियो भन्ने हुन्थ्यो र दुश्मनले घेरा हाल्छ भन्ने कुराप्रति ध्यान कम जान्थ्यो । र उसले घेरा हालेर सरप्राइज्ड अट्याक गर्दा हामीले क्षति व्यहोर्नुपथ्र्यो । एक दुईवटा क्षति व्यहोरिसकेपछि फेरि हामी राम्रो तयारी गर्ने, राम्रो तालिम लिने, राम्रो रेकी गर्ने, राम्रो हातहतियार व्यवस्था गर्ने रणनीति कार्यनीति बनाउँथ्यौं र जित्थ्यौं,’

सत्ताधारीनेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार आफू पक्षधर नेताहरुको भेलामा आयोजित ब्रिफिङमा दिएको अभिव्यक्ति हो यो ।सत्ताधारीनेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई घेराबन्दीमा पारेर कमजोर पारिरहेको विश्लेषण भइरहँदा पछिल्लो अभिव्यक्ति आएको हो ।

अहिले ओलीसँगको टकरावलाई प्रचण्डले युद्धसँग तुलना गरेका छन् । उनले ओलीले घेराबन्दीमा पारेर सरप्राइज्ड एट्याक गरेको आशय व्यक्त गरेका छन् । हुनपनि सत्ताधारी नेकपा एकताअघि भएका भद्र सहमतिलाई ओलीले पुरै बेवास्ता गरिदिएका छन् । आधा आधा प्रधानमन्त्री बन्ने दुई अध्यक्षबीचको सहमतिलाई ओलीले मिति सकिएको औषधीको हालत बनाइदिएका छन् ।

प्रचण्ड दोस्रो वरियताको अध्यक्ष बनेर निरिह जस्तै बन्नुपरेको छ । यतिसम्मकी प्रचण्ड ओली सरकारको अधिकांश राजनीतिक नियुक्ति तथा महत्वपूर्ण निर्णयमा वाइपास जस्तै बनाइएका छन् । उनको सिफारिशमा बनेका मन्त्रीहरु समेत ओलीसँग नजिकिएका छन् । यसलाई प्रचण्डले आफ्ता मान्छे तान्ने र सिध्याउन सकिन्छ भनी लागेको घटनाका रुपमा लिएका छन् ।

प्रचण्डको बुधबारको अभिव्यक्तिबाट उनले खराब परिस्थिति आउन सक्ने भन्दै तयारी रहन समेत भनेका छन् । उनले भनेका छन्, ‘मानसिकरुपले जस्तोसुकै परिस्थितिका लागि तयार भयौं भने यो लडाईं जित्छौं ।’ ओलीसँगको पछिल्लो टकरावलाई प्रचण्डले लडाईंका रुपमा लिएका छन् । तर, उनले फेरि रणनीति बनाएर जीत हासिल गर्ने दृढता व्यक्त गरेका छन् । लडाईंमा कहिलेकाही विचलित हुनेहरु पनि रहेको टिप्पणी गरे । आफूलाई सहयोग नगर्ने केही नेकपा नेताहरुप्रति प्रचण्डको संकेत थियो यो ।

ओलीको रणनीतिक चार्तुयताका कारण ओली घेराबन्दीमा परेका छन् । यसलाई उल्टाएर प्रचण्डले ओलीविरुद्ध घेराबन्दी गरिसकेका थिए । सचिवालयका छ जना ओलीविरुद्ध उभिएका थिए । स्थायी कमिटीको दुई तिहाई ओलीको राजीनामाको पक्षमा थिए । तर, परिस्थिति यसरी बदलियो कि स्थायी कमिटीमा ओली नै बहुमतमा पुगेका छन् । उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ओलीतिर गएपछि उनकै पल्लाभारी भएको छ ।

प्रचण्डले यो घटनालाई पनि लडाईंसँग तुलना गरेका छन् । उनले कहिलेकाहीं युद्ध जित्यो भनेर ढुक्का हुँदा दुश्मनले सरप्राइज्ड एट्याक गर्ने गरेको स्मरण गरे । ओलीको यो सरप्राइज्ड एट्याकबाट आफू नआत्तिएको र फेरि रणनीति बनाएर जित्ने दाबी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार