चीन, रुस र इरानले अमेरिकी चुनावमा दखल दिन प्रयास गरेको भन्दै अमेरिकाको गुप्तचर निकायका प्रमुखले चेतावनी दिएका छन्।

अमेरिकाको काउन्टरइन्टलिजेन्सका निर्देशकले वक्तव्य जारी गरी तीन देशले ‘गुप्त र खुला रुपमा’ यो वर्ष हुने चुनावलाई प्रभावित पार्न प्रयास गरेको बताएका हुन्।

काउन्टरइन्टलिजेन्सका निर्देशक विलियम एभनिनाले वक्तव्यमा भनेका छन्, ‘ती राष्ट्रसँग चुनाव यो उम्मेदवारले जितोस् भन्ने चाहना छ।’

अमेरिकी गुप्तचर निकायका प्रमुखहरुले सन् २०१६ को चुनावमा रुसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहयोग हुने गरी दखल गरेको बताएका थिए। तर रुसले भने सो कुरा अस्वीकार गर्दै आएको छ।

शुक्रबारको पत्रकार सम्मेलनमा गुप्तचर निकायका प्रमुखको रिपोर्टका सम्बन्धमा सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले सो विषयलाई नजिकबाट नियाल्ने बताए।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ। रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्प दोस्रो कार्यकालका लागि मैदानमा छन् भने उनलाई चुनौति दिन डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन चुनावी अभियानमा छन्।

कोरोना भाइरसको महामारीका कारण यो वर्षको चुनावमा हुलाक मार्फत हुने मतदानको दायरा निकै फराकिलो बन्ने देखिएको छ र त्यसका लागि काम पनि भइरहेको छ।

तर ट्रम्प भने हुलाकबाट हुने मतदान धाँधली रहित नहुने भन्दै चुनाव नै सार्ने सम्मको प्रस्तावमा छन्। उनको यो कुरा उनकै रिपब्लिकन पार्टीका नेताले विरोध गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार