सत्ताधारी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर केही समय अघि कृषि मन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योग भट्टराईसँग लामो भलाकुसारी गरेछन् । सरकारका गतिविधि, पार्टीका काम, नेतृत्व र त्यसले निभाईरहेका भूमिकाहरुको लामो व्याख्या ओलीले सो भेटमा गरेका रहेछन् ।

सो भेटमा भएका कुरा मन्त्रीद्वयले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई समेत सुनाएछन् । प्रधानमन्त्री ओलीले आफूहरुसँग भनेका कुरा मुख्यमन्त्री पोखरेलले सुनेपछि उनी पनि दंग परेछन् ।  प्रधानमन्त्री ओलीले सुनाएको विषय प्रशंगलाई मन्त्रीद्वयले अन्य केन्द्रीय नेताहरुसँग पनि शेयर गरेका रहेछन् । नेकपाभित्र आन्तरिक विवाद, सरकारको आलोचना र प्रधानमन्त्रीको राजिनामा माग भईरहेका बेला प्रधानमन्त्रीले सवैलाई आश्चार्यमा पार्ने तर्क दिएका रहेछन् ।

प्रधानमन्त्रीको तर्क रहेछ– ‘समकालिन विश्वमा म नै एक नम्बरको नेता हूँ ।’ उनले आफ्नो तर्कको व्याख्या समेत गरेका रहेछन्– ‘तपाईंहरु अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको कुरा गर्नुहोला । ट्रम्प कहाँ नेता हुनु र ? उनी त व्यापारी । केही समय अघिसम्म नर्तकीहरुलाई नचाएर मनोरञ्जन लिंदै हिड्थे । उनको राजनीतिक इतिहास मेरो जस्तो कहाँ छ र ? न त राजनीति गर्ने विचार र तरिका नै छ । म सँग उनको तुलना हुनै सक्दैन ।’

ओलीले अमेरिकी राष्ट्रपति ट्रम्पको बारे बताएपछि फेरि व्याख्या गरेछन् चिनियाँ राष्ट्रपति सि चिन फिङको । ‘सिले कहिल्यै पनि अभाव झेल्नु परेन । उनी आफ्ना सरकारी उच्च ओहोदाका छोराका बाबु राम्रो पढे, लेखे, खाए, हुर्किए । राजनीतिमा पछि आए । उनको राजनीतिक इतिहास मेरो जस्तो कहाँ छ र ? अहिले पनि उनले बनिबनाउ चीनलाई ठूलो नेतृत्व पंक्तिको सहयोगमा अघि बढाईरहेका छन् । मैले जस्तो चुनौतिको सामना गरेर नयाँ विचार र नेतृत्व दिन सकेका छैनन्’, ओलीले भट्टराई र भुसाललाई सुनाउँदै गएछन् । ओलीले फेरि रुसका राष्ट्रपति भ्याल्दिमिर पुटिनको विषयमा पनि मन्त्रीद्वय भुसाल र भट्टराईसँग परिचर्चा गरेछन् ।

‘सैनिक पृष्ठभूमिका, खुफिया एजेन्सी चलाएर आएका पुटिन राजनीतिक नेता होइनन् । उनको पृष्ठभूमि पनि राजनीतिक छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि आफू भन्दा जुनियर र नेतृत्वदायी क्षमता कमजोर भएका नेता हुन्’, ओलीको भनाई उद्धिृत गर्दै मन्त्रीद्वयले अन्य नेतालाई सुनाएछन् । शक्तिशाली राष्ट्रका राष्ट्र प्रमुखहरुको चर्चा गरेपछि ओलीले भने छन्– ‘अहिलेको समकालीन विश्वमा म नै एक नम्बरको नेता हूँ ।’ जुन कुरालाई आफूले अन्तर्राष्ट्रिय मञ्चहरुमा तिनै नेताहरुका अघिल्तिर पनि दमदार मन्तव्य दिएर पुष्टि गर्ने गरेको बताएछन् ।  प्रधानमन्त्री ओलीका मुखबाट यो व्याख्या सुन्ने मन्त्री भुसाल र भट्टराई पहिलो साक्षी भने होईनन् । यसअघि प्रधानमन्त्री ओलीले नेकपाका अन्य नेताहरुलाई पनि यस्तो व्याख्या सुनाउने गरेको श्रोतले समाचार दैनिकलाई बतायो ।

प्रधानमन्त्री ओलीले आफू किन सबै भन्दा अब्बल हो भन्ने कुरा समेत सुनाउने गरेका छन् । उनको व्याख्या र युवा संघका नेता छत्कुल्लीको व्याख्यामा मिलन विन्दु भेटिन्छ । सानै उमेरदेखि राजनीतिमा होमिएको, गरिव जनताको पक्षमा भएका विभिन्न आन्दोलनहरुमा होमिएको, लामो जेल जीवन बिताएको, पछिल्लो चरणमा आफ्नै नेतृत्वमा लोकतान्त्रिक आन्दोलनलाई विजयी बनाएर विश्वमा कहीँ नभएका बेला नेपालमा कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई मत ल्याएर सरकार बनाएको ।

कम्युनिष्ट पार्टीको सिद्धान्त र विचारलाई स्थापित गराउँदै विश्वलाई नै उदाहरण हुनेगरी सरकार चलाएको लगायतका तर्क दिंदै प्रधानमन्त्री ओलीले आफ्नो अब्बलपन प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार