कम्युनिस्ट पार्टीमा आबद्ध चाहे त्यो युवा होस्, चाहे विद्यार्थी, किसान, मजदुर नै किन नहोस्, त्यो शक्तिले बितेका १५–२० वर्षमा कुनै ठूलो आन्दोलन नै गरेको छैन । कम्युनिस्ट पार्टीले पनि आफ्ना जनसंगठनलाई पाँच वर्षमा एकपटक प्रयोग गर्ने औजारका रूपमा प्रयोग गर्न थाले । अन्ततः उनीहरू समाज बदल्ने अग्रदस्ताको भूमिकाबाट अनुहारविहीन मतदातामा परिणत हुन पुगे । आजको युवाको वास्तविक अनुहार पनि यही हो । नेकपाका नेता–कार्यकर्ता केवल मतदानका एजेन्टमा सीमित हुन पुगेका छन् । कम्युनिस्ट क्याडरहरू खानेपानी, वन, विद्यालय र अस्पताल सञ्चालक समितिमा हावी त भए, तर त्यहाँ हावी भएसँगै उनीहरूमा रहेको जुझारुपन पनि उनीहरूले त्यतै कतै विसर्जन गरिदिए ।

यस्तोमा अझै हाम्रो पार्टीले लेनिनवादी संगठनात्मक सिद्धान्त अपनाएको स्वाङ रच्छ । तर, लेनिनको संगठनात्मक सिद्धान्त उनको राजनीतिक, सांस्कृतिक र आर्थिक सिद्धान्तसँग अविभाज्य छ भन्ने उसले बिर्सिसकेको छ । लेनिनको समग्र आत्मालाई छोडिदिएर भित्तामा झुन्ड्याइएको लेनिनको तस्बिरले समाजलाई कति उद्वेलित गर्न सक्ला ? समाजमा त्यसले कति प्रभाव विस्तार गर्न सक्ला अथवा भनौँ पुँजीवादविरुद्धको संघर्षमा त्यसले कत्तिको प्रभावकारी भूमिका निर्वाह गर्न सक्ला ? यही प्रश्न आजका युवाको हकमा पनि लागू हुन्छ ।

समाजमा कम्युनिस्ट पार्टीको यो स्तरको बोलवाला छ, संगठनमा उसले यो स्तरको पकड कायम गरेको छ कि सातमध्ये ६ प्रदेशमा उसले आफ्नै नेतृत्वको सरकार सञ्चालन गरिरहेको छ । देशैभरका युवा, कम्युनिस्ट पार्टीमा आबद्ध छन् । यसरी जुझारुपन सकिदिने र वैचारिक कुँजोपन विकास गरिदिने खालको दुर्भाग्यपूर्ण अवस्थामा उभिएका युवासँग हामी के अपेक्षा गर्न सक्छौँ ? यति भइसकेपछि नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तर कहाँ छ भन्ने थप दृष्टान्त दिइरहनु पर्छ र ? यद्यपि, आशा गर्ने ठाउँ जहिले पनि जीवित रहन्छ ।

हामी र हाम्रो अग्रज पुस्ताले सामन्तवादका विरुद्ध सानदार ढंगले संघर्ष ग¥यो, तर पुँजीवादसँग आमनेसामने भएपछि हाम्रो नेतृत्वको ठूलो अंश पुँजीवादबाट प्रदूषित बन्न पुग्यो । यस्ता प्रदूषितहरूले पुँजीवादका विरुद्ध लड्न सक्ने कुरै भएन । त्यसैले युवापुस्ताले यो अजंगको पुँजीवादसँग यसरी नै सानदार ढंगले लडाइँ लड्नुपर्छ, जसरी हिजोको पुस्ताले सामन्तवादका विरुद्ध लडाइँ लडेको थियो ।

हाम्रो पुस्ताले युवाहरूसमक्ष यो सत्यलाई कबुल्नैपर्छ कि पुँजीवादसँगको लडाइँमा हामी कमजोर साबित भयौँ । युवालाई भन्नुपर्छ कि तिम्रा अगाडि पुँजीवादसँग लड्ने चुनौती तेर्सिएको छ । सम्पूर्ण सामथ्र्यका साथ पुँजीवादलाई धुलिसात पार्ने महायज्ञमा सामेल होऊ । अन्यथा, पुँजीवादले मान्छे र मान्छेको संसारलाई समाप्त पारिदिनेछ । नेपालका कम्युनिस्ट र युवाको आजको मुख्य चुनौती नै यही हो ।

सत्ताधारी नेकपा नेता राम कार्कीसँग नयाँपत्रिकाले गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार