
सैद्धान्तिक र राजनीतिक रूपमा कम्युनिस्ट पार्टीको एकता आवश्यक थियो, तर उपयुक्त विधिबिना ‘दुई पार्टीका अध्यक्षले सबै निर्णय गर्ने’ भनेर छापामार शैलीमा एकता भयो ।
‘गोप्य रूपमा नगरिएको भए एकता नै गर्न दिँदैनथे’ भनेर ‘देशी–विदेशी शत्रुतर्फ’ को भय सिर्जना गर्दै तान्त्रिक–मान्त्रिक शैलीको महिमागान गरियो । ‘एकता हुन्छ भनेको भए हुँदैनथ्यो, हुँदैन–हुँदैन भनेर मात्रै एकता भयो’ भन्दै चारबुँदे ‘चोचोमोचो’ प्रशंसामा अर्को कथ्य रचियो । त्यो ‘चोचोमोचो’ अर्थात् दुई अध्यक्ष पालैपालो प्रधानमन्त्री हुने मिलापत्र रहेछ; त्यो पनि कार्यान्वयन भएन ।
फेरि, एक जनाले पार्टी चलाउने र अर्कोले सरकार चलाउने विधि बन्यो । त्यसले पनि काम गर्न पाएन । वास्तविक विधिलाई एकताको सुरुदेखि नै भत्काइएको थियो । आज नक्कली विधिले समेत काम गर्न छाड्यो । आज नेकपा–साम्राज्यका नायकहरू आफ्नै कमरेडहरूसँग बैठकसम्म बस्न नसकेर दुनियाँसामु एकअर्कालाई दुत्कार्दै छन् ।
यिनको बाटो स्पष्ट छ : एकले अर्कालाई नङ्ग्याउने र सबै नाङ्गिने, एकले अर्कालाई देखाइदिने र सबैले सबैलाई देख्ने ! यसरी हेर्दा आज नेकपासँग सबै थोक छ, तर विधि छैन; त्यसैले केही पनि छैन ।
फेसबुक र ट्वीटरका भित्तामा, टेलिभिजन, रेडियो, अनलाइन र पत्रपत्रिकाहरूमा जुन घृणाको वर्षा भैरहेको छ, मानौं संसदीय निर्वाचनको घटिया प्रतिस्पर्धा चलिरहेको छ । पार्टी माथिबाट क्रान्ति कुहिँदै जाने र तलबाट क्रान्तिकारी सुक्दै जाने खतरा छ ।
कान्तिपुर दैनिकमा सत्ताधारी नेकपाका नेता एंव मन्त्री समेत रहेका घनश्याम भुसालको भनाईको छोटो अंश ।







