
आफु करिब अल्पमतमा परेपछि सत्ताधारी नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई महाधिवेशन आयोजक समितिको एकल संयोजक बन्न आग्रह गरेका हुन ।
बालुवाटार स्रोतका अनुसार ओलीको त्यो प्रस्ताव लिएर ओलीका विश्वासपात्र स्थायी समिति सदस्य शंकर पोखरेल गत शनिबार प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।
बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीलाई सर्वमान्य नेता बनाउने, र नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताको हैसियत दिएर महाधिवेशनमा जाने प्रस्ताव पोखरेलले प्रचण्डसमक्ष गरेका हुन । पोखरेलले ओलीको प्रस्ताव प्रचण्ड समक्ष राख्दै पार्टीभित्र देखिएको समस्याको गाँठो फुकाउने अचुक उपाय यो भन्दा उपयुक्त अरु हुन नसक्ने पनि बताएका थिए ।
तर, प्रचण्डले भने आफूहरुलाई कमजोर बनाउन ल्याइएको प्रस्ताव स्वीकार्य नभएको बताएका थिए । र आफूहरु आफ्नो अडान अडिक रहेको सन्देश पनि ओलीसम्म पुर्याउन भनेका थिए ।
समस्या बल्झिने संकेत देखिएपछि ओलीले आफू निकटका सांसदहरूलाई उपत्यका नछाड्न र बाहिर जिल्लामा रहेकालाई जसरी पनि राजधानी आउन निर्देशन दिएका छन् ।
आफू विरोधी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपनि ओलीले आफूनिकट सांसदहरूलाई राजधानी नछाड्न र बाहिरकालाई आउन निर्देशन दिएका उनका एक सहयोगीले बताए । संविधानमा अविश्वासको प्रस्ताव पार्टीका २५ प्रतिशत सांसदले राख्न सक्ने व्यवस्था छ ।







