भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनलाई टक्कर दिन भारतीय सेना तयार रहेको बताएका छन्।

संसदीय समितिलाई सेनाको अवस्थाबारे जानकारी दिने क्रममा एलएसीमा लामो समयसम्म चीनको सामना गर्न र जाडोको समयमा पूर्वी लद्दाख क्षेत्रमा तैनाथ हुनका लागि तयार रहेको बताएका हुन्।

हिन्दुस्तान पत्रिकामा छापिएको खबर अनुसार सीडीएस र सेनाका शीर्ष अधिकारीले संसदको लेखा समितिमा एलएसीमा चीनले अभ्यासको नाममा सीमा क्षेत्रमा निर्माणको काम गरेको बताए।

शिनजियाङ्गमा तैनाथ सैनिकहरु तीव्र रुपमा भारतीय क्षेत्रमा प्रवेश गरेको पनि उनीहरुले संसदीय समितिलाई बताएका छन्। चीनले सीमा आसपासका क्षेत्रमा झण्डै ४० हजार सैनिक तैनाथ गरेको दाबी छ।

भारत र चीनबिच विभिन्न चरणमा वार्ता भए पनि केही क्षेत्रबाट पछि हट्न चीन तयार नभएको भारतीय पक्षको दाबी छ। अवस्था सामान्य हुन अझै केही समय लाग्ने सीडीएसले संसदीय समितिलाई बताएको स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तानले लेखेको छ।

रावतले भनेका छन्, ‘भारत चीनको कुनै पनि दुस्साहसको जवाफ दिनका लागि पूर्ण रुपमा तयार छ। तनाव कम हुनका लागि समय लाग्ने बताइएको छ । तर हामी कुनै पनि अवस्थाको सामना गर्नका लागि तयार छौँ । लद्दाखमा त्यसका लागि आवश्यक व्यवस्था पनि गरिएको छ।’

यसैबिच चीनले भने शान्तिपूर्ण रुपमा समस्या समाधानको पक्षमा आफू रहेको बताएको छ । भारतसँग रणनीतिक विश्वासलाई बलियो बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार