
पत्रकार बलराम बानियाँको निधनप्रति नेपाल पत्रकार महासंघ दुःख व्यक्त गरेको छ ।
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव समेत रहेका बानियाँको मृत्यु रहस्यमय ढंगले भएको भन्दै महासंघले उनको मृत्युबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ’, महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केही दिनदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेका बानियाँकोे शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको प्रहरीले जनाएको छ ।
खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।
पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।








