
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादमा स्थायी कमिटी बैठक सूचारु गर्न ओली सहमत भएका छन् ।
कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले निरन्तर आफूपक्षका नेताहरुसँग छलफल थालेपछि ओली पक्षले लचकता अपनाउदै स्थायी कमिटी बैठक सूचारु गर्न सहमति जनाएको हो ।
दाहाल नेपाल समूहले बुधबार र विहिबार लगातार आफू पक्षका केन्द्रीय सदस्यहरुलाई बोलाएर छलफल थालेको खबर बालुवाटारमा पुगेपछि ओलीले विहिबारको संवादमा स्थायी कमिटी बैठक सुचारु गर्न सहमत भएको स्रोतको दावी छ ।
नौ दिनपछि उनीहरुबीच भएको संवादमा ओलीले केही लचकता अपनाएपछि संवाद सकारात्मक चरणमा प्रवेश गरेको छ । उनीहरुबीच महाधिवेशन चाडो गर्ने र त्यसका लागि सबै तहमा एक चरण छलफल अघि बढाउने सहमति समेत बनेको थियो ।
अध्यक्ष दाहालले स्थगित स्थायी कमिटी बैठक बोलाउनु पर्ने र केन्द्रीय कमिटी सदस्यहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन भन्दै आफ्नो अडानमा रहेपछि ओलीले संवाद रोकेका थिए । ओलीले दुवै पद नछाड्ने अडान राखेपछि दाहाल समूहले एक पद भएपनि छाड्न दबाब दिइरहेका थिए ।
अहिलेसम्म एक पद छाडेमा कुरा मिल्छ भन्ने अडानबाट दाहाल पछि हटेका हुन कि भन्ने आशंका पनि बढेको छ ।







