
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माण गर्न सुझाव दिएका छन् ।
जनता समाजवादी पार्टीका बरिष्ठ नेता समेत रहेका शुक्रबार गृह जिल्ला गोरखा पुगेर भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिए, ‘अहिले राम मन्दिर बनाउने समय हो कि अस्पताल बनाउने ?’
अस्पताल र भेन्टिलेटर अभावका कारण मानिसहरु मरिरहेको भन्दै नेता भट्टराईले जनताको स्वास्थ्यप्रति गम्भीर हुन प्रधानमन्त्रीलाई आग्रह गरे ।
‘कोरोनाको यो महामारीको समयमा सरकारले अस्पतालमा उपकरण जुटाउने, भेन्टिलेटर बनाउने तिर समय दिनुपर्ने हो,’ भट्टराईले पत्रकारसँगको कुराकानीमा भने, ‘तर प्रधानमन्त्रीको ध्यान भने अयोध्या र राम मन्दिर बनाउने तर्फ छ ।’
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको उनको भनाई छ ।‘दृष्टिविहीनले हात्ती छाम्दा चाल नपाएजस्तो कोभिड-१९ को बारेमा सरकारले अहिलेसम्म केही भेउ पाएको छैन,’ उनले भने ।
चार महिनाको बन्दावन्दीमा जुन तयारीका साथ सरकारअघि बढ्नुपथ्र्याे त्यसमा पनि चुकेको भन्दै उनले सरकारको आलोचना गरे ।
प्रधानमन्त्री ओली गैरजिम्मेवार रहेको र उनी सत्तामा रहेसम्म देश र जनताले दुःख पाइरहने भन्दै भट्टराइले असन्तुष्टि व्यक्त गरे ।







