
सत्ताधारी नेकपाले केही मन्त्रीहरु फेरबदल गरेर नयाँ मन्त्रीमण्डल बनाउने भएको छ ।
शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल पुर्नगठन गर्ने लगभग सहमति बनेको विशेष सुत्रको भनाई छ ।
विश्वस्त स्रोतका अनुसार दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गरिने भएको छ । सरकार ओलीले र पार्टी प्रचण्डले चलाउने गरी खका बनाइने सहमति भएको छ । मन्त्रीमण्डल पुर्नगठन र केही मुख्यमन्त्रीमा समेत हेरफेर हुने भएको छ ।
विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरु भीम रावल, जर्नादन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुषाल पनि पुर्नगठित मन्त्रीमण्डलमा रहने सम्भावना रहेको बुझिएको छ । पौडेल पार्टीकै जिम्मेवारीमा रहने र शंकर पोखरेलले मुख्यमन्त्री छाडेर मन्त्री बन्ने सम्भावना पनि रहेको बुझिएको छ । जर्नादन शर्मा गृह मन्त्री, भीम रावल परराष्ट्र वा सञ्चार र सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने सम्भावना रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । पम्फा भुषालले पनि मन्त्री बन्ने निश्चितप्रायः छ ।
अहिले भएकामध्ये प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल मन्त्री कायमै रहने सम्भावना रहेपनि अन्य मन्त्रीहरुमा फेरबदल हुने सम्भावना रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । सम्भवतः आउँदो हप्ता मन्त्रीमण्डल पुर्नगठन हुनेछ ।
पुर्नगठित मन्त्रीमण्डलमा ओली, प्रचण्ड, नेपाल, खनाल र गौतम पक्षका नेताहरुको समान सहभागिता हुने गरी तयारी भएको छ ।







