सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा कोभिड-१९ प्रकोप र यसको असरबारे अध्ययन गर्न कार्यदल गठनको माग गरेका छन् ।

पार्टी सचिवालयको सोमबारको बैठकमा नेता नेपालले कोभिड–१९ को असरबाट विश्व नै आक्रान्त बनेका बेला नेपालले यसबारे विस्तृतमा अध्ययन गर्नुपर्ने भन्दै कार्यदल नै गठन गर्न प्रस्ताव गरेको एक सदस्यले जानकारी दिए ।

सोमबारको बैठकमा शुक्रबार गठन गरिएको पार्टी महासचिव  विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदलको अनुमोदन गर्ने एउटा मात्रै कार्यसूची थियो ।

पार्टीका समस्या समाधान गर्न अध्यक्षद्वयले अघि सारेको कार्यदल अनुमोदन गर्न आवश्यक रहेको निष्कर्ष सुनाउँदै नेता नेपालले कोरोनाबारे पनि अध्ययन आवश्यक रहेको बताएका थिए ।

“कोभिड–१९को प्रभाव र असरबारे अध्ययन गर्न एउटा कार्यदल बनाएर जाउँ । यसको दस्तावेजीकरण र अभिलेखीकरणका लागि पार्टीको विपद् व्यवस्थापन सम्बद्ध संगठनका इञ्चाज गंगालाल तुलाधारलाई संयोजक बनाएर जाऔं, त्यसमा विज्ञहरू पनि समावेश गराउँदा हुन्छ । कोरानाको प्रकोपका सन्दर्भमा यो एउटा राम्रो इतिहास पनि हुन्छ । र, भोलिका दिनमा राम्रो पाठ पनि हुनसक्छ,” नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

नेता नेपालको प्रस्तावमा अरू सदस्यको विमित नरहे पनि यसबारे बैठकमा औपचारिकरूपमा छलफल नभएको स्रोतले जानकारी दियो ।

“नेता नेपालको प्रस्तावप्रति सचिवालयका सबै नेता सकारात्मक रहे पनि आजको बैठकमा यसबारे मूर्त छलफल भएन । पार्टी अध्यक्ष प्रचण्डले आगामी दिनमा यसबारे छलफल गर्न सकिने बताएका थिए,” स्रोतको भनाइ छ ।

नेता नेपालले यसबारे केही दिनदेखि छलफल चलाइरहेका छन् । आइतबार बेलुकीमात्रै पनि उनले आफूनिकट केही नेतासँग यसबारे परामर्श गरेका थिए । सुझाव मागेका थिए ।

कोभिड–१९ नेपाललाई मात्रै नभएर मानव सभ्यतालाई नै चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा यरबारे मिहीन अध्ययन हुनुपर्ने उनको निचोड रहेको छ । सरकारको नेतृत्व गरेको दल भएकाले नेकपाले नै यसको अगुवाइ गर्नुपर्ने नेता नेपालको धारणा रहेको  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार