
दिल्लीको प्रदर्शनमा हजारौँ आशा सङ्गठनका सामुदायिक कार्यकर्ताहरूले हड्ताल जारी राख्ने क्रममा उनीहरूमध्ये केहीलाई आफूलाई काममा जाँदा मास्क, पञ्जा, स्यानिटाइजर वा पीपीई किट्स उपलब्ध नभएको गुनासो गरेका छन् ।
स्वास्थ्य सामुदायिक कार्यकर्ता हेमा दानीले नियमितरूपमा सङ्क्रमित बिरामीसँग काम गर्दा आफू असुरक्षित रहेको बताइन् । मार्च महिनादेखि नै उनीहरू घरघर पुगेर परिवारको बारे जानकारी सङ्कलन गरिरहेका छन् ।
चिकित्सकले परीक्षणपछि तयार गरेको रिपोर्ट पनि उनीहरूले सम्बन्धित व्यक्तिलाई दिने जिम्मेवारी पाएका छन् । कसैमा कोभिड–१९ पोजेटिभ देखिए उसलाई एम्बुलेन्समा राखेर क्वारेन्टिनमा पु¥याउनु उनीहरूकै दायित्वभित्र परेको छ ।
“मैले हालसम्म चार जना व्यक्तिलाई एम्बुलेन्समा राखेर उपचारको लागि लगेको छु”, दक्षिणपश्चिम दिल्लीको द्वार्कामा काम गर्ने ४३ वर्षकी दानीले भनिन् । त्यसरी बिरामी ओसार्दा सामान्य मास्कबाहेक अरू कुनै सुरक्षा वस्त्र लगाएकी छैनन् । उनले टाउकोमा आफ्नै साडी बेर्ने गरेकी छिन् । “म निकै आत्तिएकी छु । मैले कोभिड–१९ को परीक्षण गर्ने एप डाउनलोड गरेकी छु । त्यसले मेरो सुन्तला रङको सङ्केत गरेको छ । त्यसको अर्थ ममा पनि पोजेटिभको सङ्केत देखिएको छ । त्यसबारे आफ्नो सुपरभाइजरलाई जानकारी गराउँदै मोबाइल एपको भर छैन भनी जवाफ दिएको थिएँ”, उनले बताइन् ।
केही महिला स्वास्थ्य कार्यकर्ताहरूले रोगका लक्षण देखिएका बिरामीहरूसँगको सम्पर्कले उनीहरूको परिवारलाई समेत जोखिममा पारेको बताएका छन् । “घरमा सबै त्रसित छन्”, दक्षिणपश्चिम दिल्लीको कपाशेरामा काम गर्ने ४० वर्षकी सुजाता पाण्डेले भनिन् । “मलाई केही भए मेरो घर परिवारलाई पनि सर्छ । हाम्रो पनि हाडमासुको शरीर हो । हामी दिनभर काम गर्छौं । हामीलाई कुनै बिदा पनि छैन”, उनले गुनासो गरिन् ।
पाण्डेले आफूले पटक–पटक मास्क, हाते पञ्जा र स्यानिटाइजरको माग गरेको बताइन् । तर, भण्डारमा कहिल्यै पनि नपाइएको दुःखेसो पोखिन् ।
मधुबालाले यदि आफूलाई कोरोना सङ्क्रमण भए अलग बस्ने ठाउँ नै आफ्नो घरमा नभएको बताइन् ।
तलब
आशाका सामुदायिक स्वास्थ्य कार्यकर्ताहरू अहिले मासिक ३ हजार तलब थाप्छन् । आफूलाई तोकिएको क्षेत्रमा खोप खुवाउने, गर्भवती आमालाई सहयोग गर्ने र बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराएपछि उनीहरूलाई भत्तास्वरूप दस हजार भा.रू. दिइने गरेको छ । तर, मार्च यता भने उनीहरू कोरोना भाइरसमै केन्द्रित भएका छन् । यसले उनीहरूले पाउँदै आएको भत्तामा असर गरेको छ ।
४५ वर्षकी लक्ष्मीदेवीले मासिक १० हजार भा.रू. हात थाप्दै आएकोमा लकडाउन यता मासिक ३ हजारमै चित्त बुझाउनुपर्ने अवस्था बनेको छ । भत्ता सबै बन्द गरिएको छ ।







