सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको गतिरोध अन्त्यका लागि पार्टौ अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिन नपर्ने बताएका छन्।

एपी-वान टेलिभिजनसंगको अन्तर्वार्ताका क्रममा प्रचण्डले पार्टीको अबको ध्यान महाधिवेशनमा हुने बताएका हुन्। उनले पार्टीमा विवाद पदका लागि नभएको पनि बताए ।

विवाद समाधानका लागि गठित कार्यदलले स्थायी कमिटीमा उठेका विषयमा छलफल गरेर समाधानका लागि प्रस्ताव तयार पार्ने समेत उनको भनाइ छ।

‘सकारात्मक ढंगले पार्टी एकता र सरकारको काम अगाडि बढाउने भन्नेमा हामी आइपुगेका छौं। अहिले नै सबै मिलेको भन्ने होइन,’ उनले भने, ‘कार्यदलले प्रस्ताव ल्याएर स्थायी कमिटीमा पेश गर्छ। त्यसपछि केन्द्रीय कमिटीमा गएर महाधिवेशनको योजना बनाउनुपर्छ।’

मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायहरूमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने प्रचण्डले बताए ।

उनले पार्टीभित्रको विवाद साता दिनभित्र नयाँ निष्कर्षसहित अगाडि बढ्ने दावी समेत गरेका छन्।

बाहिर हेर्दा प्रचण्ड आफ्नो खोजीमा छ जस्तो देखिए पनि आफूले कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन बलियो बनाउन लागेको उनको दावी छ।

‘विभाजित पार्टीबाट सफल कम्युनिस्ट आन्दोलन निर्माण गर्ने आर्किटेक्चर बनेको छु। मैले पार्टीलाई दुई तिहाई बहुमतनजिक पुर्‍याएको जस्तो लाग्छ,’ उनले भने, ‘मलाई मेरा समर्थक, शुभचिन्तक, आफन्त र साथीभाइले कमजोर भएको हो कि भन्छन्। तर म निराश छैन। किनकि म शक्तिशाली पार्टीको अध्यक्ष छु’ उनले भने ।

प्रचण्डले एमसीसीका बारेमा पनि पार्टीमा सहमति कायम हुने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार