
बेलारुसमा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा अलेक्सान्द्र लुकाशेन्को छैटौं पटकको लागि राष्ट्रपति पदमा निर्वाचित भएपछि मतपरिणामप्रति विमति जनाउँदै चर्को आन्दोलन भइरहेको छ ।
आन्दोलनरत विपक्षीहरूले पुनःनिर्वाचनको माग गरिरहेका छन् भने निर्वाचित राष्ट्रपति लुकाशेन्कोले भने पुनः निर्वाचनको प्रस्ताव अस्वीकार गर्दै संविधानअनुसार राष्ट्रपतिको शक्तिमा भने विचार गर्न सक्ने बताएका छन् ।
यसैबीच गत मङ्गलबार बेलारुसको एउटा नयाँ राजनीतिक दलले देशबाहिरबाट समानान्तर सरकारको घोषणा गरेको छ । राष्ट्रपति लुकाशेन्कोले यो कदमलाई सत्ताकब्जाको प्रयास भनी विरोध गरेका छन् ।
बेलारुसको पछिल्लो विकसित अवस्थाबारे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली परिषद्का सभापति चाल्र्स मिचेल, जर्मनीका चान्सलर एन्जेला मार्केल र फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंसँग फोनमा वार्ता गरेका छन् ।
चाल्र्ससँगको फोन वार्तामा पुटिनले केही देशले बेलारुसको नेतृत्वमाथि दबाब दिने र त्यहाँको राजनीतिक अवस्थालाई स्थीर बनाउन सम्भव सबै उपाय लगाइरहेको बताएका छन् ।
मार्केल र माक्रोंसँगको वार्तामा पुटिनले बेलारुसको आन्तरिक मामिलामा हस्तक्षेप र बेलारुसको नेतृत्वमाथि कुनै पनि शक्तिको दबाब रुसलाई सह्य नहुने बताएका छन् । उनले विदेशी हस्तक्षेपले बेलारुसको आन्तरिक राजनीतिक समस्यालाई थप चर्काउने बताए ।
यसैबीच संयुक्त राष्ट्र सङ्घका लागि चीनका स्थायी प्रतिनिधि चाङ चुनले बेलारुसमा भइरहेको घटना उसको आन्तरिक मामिला हो र यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा कुनै खतरा नभएको बताए ।
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा बेलारुसको अवस्थाबारे आयोजित बैठकमा चीनको तर्फबाट प्रतिक्रिया दिंदै उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् । संरा अमेरिका र इस्टोनियाको आग्रहमा बेलारुसको अवस्थाबारे त्यहाँ छलफल गरिएको हो ।







