
प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी ओलीले आफ्नैं गुटको नेतृत्वमा बनेको प्रतिवेदनप्रति असहमति जनाएका छन् । यसले गर्दा पार्टीमा ठूलो बबण्डर मच्चिने भएको छ ।
कार्यदलको पछिल्लो प्रतिवेदनमा प्रचण्डलाई कार्यकारी अध्यक्षका रुपमा केही बढी भूमिका दिएकामा पनि ओली असन्तुष्ट देखिन्छन् । ओली स्वयंको बुझाइ भने आफू पूर्ण कार्यकारी अध्यक्ष र प्रचण्ड सहयोगी वा सहअध्यक्ष मात्रै हुन् । त्यसैले उनले बारम्बार आफू सिनियर अध्यक्ष र प्रचण्ड अर्का अध्यक्ष भन्दै होच्याउने गरेका छन् ।
आगामी चैतबाट अध्यक्ष पद त्याग्ने र त्यो पद प्रचण्डलाई सुम्पने तमसुकमा अहिले नै सही गर्न ओली तयार नरहेको स्पष्ट छ । प्रचण्डलाई कार्यकारी भूमिका नदिने उनको स्पष्ट अडान छ । त्यस्तै आफू सहमत नभएको विषय पार्टीको निर्णय हुन नसक्नेमा पनि उनी उत्तिकै दृढ छन् ।
ओलीले प्रचण्डलाई कार्यकारी भूमिका नदिनु र भविष्यमा पनि उनलाई एकल अध्यक्ष बनाउने कुरामा अहिले वचनबद्ध हुन नमान्नुको कारण स्पष्ट छ, ओलीका निम्ति अब प्रचण्डको उपयोगिता सकियो । अब ओलीले होइन, प्रचण्डले मार्गप्रशस्त गनुपर्छ भन्ने टुंगो पुगेको प्रस्ट सन्देश दिएका छन् ।
यो सन्देश बुझेर प्रचण्ड आफ्नो बाटो लाग्न सक्ने अवस्था छैन । उनका धेरै नेताहरु ओली पक्षमा उभिइसकेका छन् । माधव नेपाल, वामदेव गौतम र झलनाथ खनाल पनि प्रचण्डसँग बिच्किइसकेका छन् ।
कदाचित माधव नेपालले प्रचण्डलाई साथ दिए पनि उनका कार्यकर्ताले साथ दिनेमा शंकै छ । पूर्वएमालेहरु प्रचण्डको कित्तामा नजाऊन् भनेर ओलीले जबजको तुरुप बेलाबेला फ्याँकिरहेकै हुन्छन् ।







