
सत्ताधारी नेकपाको हालैं गठित कार्यदलको प्रतिवेदनमा जनयुद्ध शव्द पुन: एकाएक गायब पारिएको छ ।
पूर्वमाओवादी केन्द्रका हर्ताकर्ता र जनयुद्धको डेपुटी कमाण्डर रहेका जनार्दन शर्मा र तत्कालीन पार्टीको मुख्य भूमिकामै रहेकी पम्फा भुसाल सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा जनयुद्ध शब्दले स्थान नै पाउन सकेन ।
पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनको बुँदा नम्बर ८ मा जनयुद्ध शब्दको सट्टा सशस्त्र सङ्घर्ष प्रयोग गरिएको हो ।
एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने शीर्षकको उपबुँदा ३ मा भनिएको छ, “महाधिवेशनबाट मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा नेपाली विशेषता अनुरुप नेपाली कम्युनिष्ट आन्दोलनले विकसित गरेका अनुभव तथा मौलिक एवम् सिर्जनात्मक सिद्धान्तहरूलाई संस्थागत गर्ने । यसक्रममा साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र सशस्त्र आन्दोलनका सकारात्मक वैचारिक पक्षहरूको संश्लेषण गर्ने ।”
शान्त्रि प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने शीर्षकको उपबुँदाभित्र पनि धेरै ठाउँमा जनयुद्ध शब्द ‘सशस्त्र द्वन्द्व’ले प्रतिस्थापन गरिएको छ ।
“सशस्त्र द्वन्द्व र आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भई कष्टपूर्ण जीवन बिताउन बाध्य योद्धाहरूको उपचारको प्रबन्ध गर्ने । असक्त र घाइतेहरूका लागि जीवन निर्वाहको व्यवस्था गर्ने,” शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन दिइएको सुझावमा उल्लेख छ ।







