
जर्मनीमा सयौँ मानिस सडकमा उत्रिएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका बाबजुद पनी मानिस सडकमा उत्रिएका हुन् ।
जर्मनीको राजधानी बर्लिनमा दुई समूहले सरकारले कोरोना रोकथामका नाममा अव्यावहारिक प्रतिबन्ध कायमै गरेको भन्दै आयोजना गरेको प्रदर्शनमा ६८ हजारभन्दा बढी मानिस सहभागी भएको बिबिसीले जनाएको छ ।
प्रदर्शनकारीहरुले सरकारले लगाएको प्रतिबन्ध खारेज हुनुपर्ने माग गरेका छन् । कोरोना महामारी बढिरहेका बेला प्रदर्शन भएपछि प्रहरीले त्यसलाई रोक्ने प्रयत्न गरेको थियो । सो क्रममा झडपसमेत भएको छ ।
झडपमा प्रहरीले तिन सयभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । जर्मन अखबार डाएचे वेलेका अनुसार विरोध प्रदर्शनमा भएका झडपमा केही प्रहरी घाइते पनि भएका छन् ।
सुरूवाती चरणमा कोरोना भाइरसको नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो बनाइएलगत्तै संक्रमण फैलिन थालेपछि जर्मनीमा फेरि कडाइ गरिएपछि सर्वसाधारण सडकमा उत्रिएका हुन् ।
युरोपमा कोरोना भाइरसको संक्रमणले प्रभावित देशहरूको सूचीमा छैठौँ स्थानमा रहेको जर्मनीमा आइतबार यो समाचार तयार पार्दासम्म २ लाख ४२ हजार ८२४ जना संक्रमित भएका छन् । अहिलेसम्म त्यहाँ ९ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ ।








