
सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठजोड बनाएका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्बन्ध बिग्रिएको छ ।
पार्टीभित्र विगत ४ महिनादेखि चरमोत्कर्षमा पुगेको विवाद समाधानका लागि कार्यदल बनाउँदा अध्यक्ष प्रचण्डले आफूसँग कुनै सल्लाह नगरेको भन्दै नेता नेपाल रिसाएका थिए ।
अफ्टेरो पर्दा आफ्नो साथ लिने स्वार्थ पूर्ति हुनेभएपछि बिर्सने भन्दै नेपालले अध्यक्ष प्रचण्डको आलोचना आफू निकटस्थहरुसँग गरेका थिए ।
नेपालले आफ्नो आलोचना गरेपछि प्रचण्डले कार्यदलमा नेपालका पनि दुई जना सदस्य राखेको र उनीहरुले कार्यदलको प्रतिवेदनमा नोट अफ डिसेन्ट नलेखेकाले आफूसँग रोष प्रकट गर्नुको औचित्य नभएको बताएका छन् ।
खुमलटार स्रोतले उहाँलाई पनि भागवण्डा गरेर कार्यदलमा सदस्य दिएको र उनीहरुले प्रतिवेदनमा सही गरेकाले आफूलाई दोष लगाउनुको औचित्य नभएको प्रचण्डले निकटस्थहरुमार्फत नेपाललाई जवाफ पठाएको बतायो ।
कार्यदल प्रतिवेदनलाई लिएर नेपालले निकटस्थहरुसँग प्रचण्डप्रति असन्तुष्टि पोखेका थिए । नेपालले आफूले प्रचण्डबाट धोका खाएको गुनासो निकटस्थहरुसँग गरेका थिए ।







